काठमाण्डौ, 27 जुन 2020
नेपालमा कोरोना भाइरस (कोभिड—१९) संक्रमणका कारण थप 1 जनाको मृत्यु भएपछि अहिलेसम्म ज्यान गुमाउनेको संख्या २८ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार शनिबार कैलालीको गोदावरी नगरपालिका ७ का ५० वर्षिय पुरुषको चितवन मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको हो । फोक्सोको क्यान्सरका विरामी उनी भारतमा उपचार गराउँदै आएका थिए । केही समयअघि चितवनको चितवन मेडिकल कलेजमा उपचारका लागि भर्ना भएका तीन पुरुषमा असार ११ गते कोरोना परीक्षण गर्दा पोजेटिभ देखिएको थियो । आइसोलेसनमा उपचारकै क्रममा उनको शनिबार विहान मृत्यु भएको हो । नेपाली सेनाको सहयोगमा शव व्यवस्थापन भइरहेको मन्त्रालयले जनाएको छ ।
कोरोना भाइरसको संक्रमण नेपालका ७७ वटै जिल्लामा फैलिएको छ । शनिबारसम्म आइपुग्दा नेपालका सबै जिल्लामा कोरोनाको संक्रमण देखिएको प्रवक्ता गौतमले बताउनुभयो । शनिबार १ सय २० महिला र ४ सय ३४ पुरुष गरी ५ सय ५४ जनामा संक्रमण देखिएको छ । यो सँगै नेपालमा संक्रमितको संख्या १२ हजार ३ सय ९ पुगेको प्रवक्ता डा. गौतमले बताउनुभयो । जसमा १ हजार ३ सय ६९ महिला र १० हजार ९ सय ४० पुरुष रहेका छन् ।
शनिबार पीसीआर विधिबाट ४ हजार ६ सय ६ गरी आजसम्म २ लाख १० हजार ८ सय ७६ जनाको परीक्षण भएको छ । यस्तै आरडिटी विधिबाट ३ हजार ६ सय ८५ गरी आजसम्म २ लाख ९४ हजार ३४ जनाको परीक्षण भएको छ । अहिले क्वारेन्टिनमा ६५ हजार ७ सय १२ जना रहेका छन् । यस्तै ९ हजार ४ सय ४७ जना आइसोलेसनमा उपचाररत रहेका छन् । शनिबार १ सय ३६ गरी आजसम्म आजसम्म २ हजार ८ सय ३४ जना संक्रमित उपचारपछि निको भएर घर फर्किएका छन् ।









































