काठमाण्डौ, 27 जून 2020
अफ्रिकी मुलुकबाट अरबियन देश हुँदै एसियाको इरान, अफगानिस्तान, पाकिस्तान र भारतसम्म आइपुगेको सलह किरा नेपालमा समेत प्रवेश गरेको छ । शनिबार विहानदेखि बारा, पर्सा, सिन्धुली देखी रुपन्देहीसम्म सलह किरा देखिएको छ । कृषि तथा पशुपंक्षि विकास मन्त्रालयले शनिबार गरेको भर्चुअल बैठकमा पनि सर्लाही, वारा, पर्सा र रुपन्देहीमा भेटिएको किरा सलह भएको पुष्टि गरेको छ । नार्कका वरिष्ठ बैज्ञानिक अजय श्री रत्न बज्राचार्यले प्रभावित जिल्लाबाट आएका भिडियो हेर्दा सानो झुण्डमा पाइएको बताएपनि भारतका विभिन्न शहरहरुमा ठूलो झुण्डमा सलह किरा उडिरहेको पाइएको छ । विहान पानी परेकाले अहिले बालीनालीलाई क्षति नगरेको भनिए पनि कृषि तथा पशुपंक्षि विकास मन्त्रालय भने निरन्तर निगरानीमा छ । सलह किराको रोकथाम तथा नियन्त्रणका लागि अध्ययन गर्न कृषि तथा पशुपन्छीं विकास मन्त्रालयले प्राविधिक समिति गठन गरेको छ ।
सलह किरा फट्याङ्ग्रा वर्गको किरा हो । संयुक्त राष्ट्रसंघको कृषि तथा खाद्य संगठनले यो किराको नाम सलह (Locust) प्लेग दिएको छ । सलहको वैज्ञानिक नाम Schistocerca Gregaria हो । यो किरा समुहमा बस्छ र कृषि बालिमा अमेरिकी फौजी किराले भन्दा बढी क्षति पुऱ्याउँछ । सलह किरा करोडौंको संख्यामा हुन्छन् । यो किराले हरियो वनस्पतिलाई छोटो समयमा पात र डाँठ समेत गरी खाइदिन सक्छ । यस्तै एक दिनमा १ सय ५० किलोमिटर भन्दा बढी टाढा सम्म पुग्न सक्छन् । यो किरा भारतको राजस्थान हुँदै दिल्ली तथा आगरा हुँदै नेपाल प्रवेश गरेको अनुमान गरिएको छ ।









































