काठमाण्डौँ, 22 अप्रेल
बुधबार थप 3 जनामा कोरोना संक्रमण पोजेटिभ देखिएको छ। योसँगै नेपालमा कोरोना संक्रमितको संख्या 45 पुगेको छ। विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा परीक्षण भएका नमुनामध्ये बुधबार 3 जनामा पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बताउनुभयो। प्रवक्ता डा. देवकोटाका अनुसार वर्ष 24, 60 र 72 का पुरुषहरुको नमुना पोजेटिभ देखिएको हो। क्वारेन्टिनमा रहेका ती व्यक्तिहरुमा संक्रमण देखिएको हो।
यसैगरी बुधबार 2 जना कोरोना संक्रमित उपचारपछि निको भएर घर फर्किएका छन्। सेती प्रादेशिक अस्पतालबाट 29 वर्षिय पुरुष 19 दिनपछि र शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुबाट 32 वर्षिय पुरुष 29 औँ दिनमा डिस्चार्ज भएका हुन्। मंगलबार सेती प्रादेशिक अस्पतालबाट 29 दिनपछि एक जना डिस्चार्ज भएको प्रवक्ता देवकोटाले बताउनुभयो। बुधबारसम्म उपचारपछि निको भएर डिस्चार्ज हुनेहरुको संख्या 7 पुगेको छ।
अहिलेसम्म स्वाव नमुना संकलन (पीसीआर) र ऱ्यापिड डाइग्नोष्टिक विधिबा गरी 40 हजार बढीको नमुना परीक्षण भएको छ। पीसीआर र ऱ्यापिड डाइग्नोष्टिक (आरडीटी) विधिबाट गरी 40 हजार 4 सय 31 वटा परीक्षण भएको मन्त्रालयले जनाएको छ। पीसीआर विधिबाट 9 हजार 11 र आरडिटी विधिबाट 31 हजार 4 सय 30 नमुना परीक्षण भएका छन्। गत 24 घण्टामा 3 हजार 7 सय 36 परीक्षण भएको प्रवक्त देवकोटाले बताउनुभयो।
सबै जिल्लामा आरडीटी विधिबाट परीक्षण भइरहेको छ। प्रवक्ता देवकोटाका अनुसार अहिलेसम्म प्रदेश नम्बर 1 मा 3 हजार 97, प्रदेश नम्बर 2 मा 3 हजार 9 सय 25 र बाग्मती प्रदेशमा 5 हजार 9 सय 15 परीक्षण भएका छन्। यसैगरी गण्डकी प्रदेशमा 4 हजार 2 सय 72, प्रदेश नम्बर 5 मा 2 हजार 5 सय 96, कर्णाली प्रदेशमा 4 हजार 3 सय 8 र सुदुरपश्चिम प्रदेशमा 7 हजार 3 सय 7 वटा परीक्षण भएका छन्। देशभरी 8 हजार 5 सय 95 जना क्वारेन्टिनमा रहेका छन्। उपत्यकामा 3 र उपत्यका बाहिर 92 जनासहित देशभरी 95 जना आइसोलेसनमा रहेका छन्।









































