काठमाण्डौ, 13 जुलाई 2020
नेपालका प्रधानमन्त्री केपी शर्मा ओली र नेपालका लागि चिनीयाँ राजदूत होउ यान्छीको चरित्र हत्या गर्ने गरि भारतीय मिडीयामा समाचार प्रसारण गरिएको विरोधमा बन्द गरिएका भारतीय च्यानलहरु फेरि सञ्चालनमा आएका छन । केवल अपरेटरहरूले चार वटा भारतीय समाचार च्यानलबाहेक अन्यको भने प्रसारण खुलाएका छन्। केवल अपरेटरहरूको आइतबार बसेको बैठकले जी–न्युज, आजतक, इन्डिया टिभी र एबिपी न्यूज च्यानलहरूको प्रसारण बन्द राखेर अरू खोल्ने निर्णय गरेको म्याक्स टिभीका उपाध्यक्ष ध्रुव शर्माले जानकारी दिनु भएको छ । केही च्यानलको प्रसारणलाई लिएर सबै च्यानल बन्द गर्न अनुपयुक्त हुने देखिएकाले यस्तो निर्णय भएको शर्माले जानकारी दिनु भएको छ।
हिजै रातिदेखि अरू भारतीय समाचारका च्यानलको प्रसारण सञ्चालन भएको जनाइएको छ। जानकारीका अनुसार भारतबाट प्रसारित हुने च्यानलहरु पेर्न नपाएपछि ग्राहकहरुले हिन्दी च्यानलहरुको प्रसारण खुलाउन दवाब दिएका थिए ।
भारतीय मिडीयाले अनर्गल समाचार प्रसारण गरेपछि 4 दिनअघि केवल अपरेटरहरुले नेपालमा प्रसारण हुने सबै भारतीय च्यानलहरु बन्द गरेका थिए । बन्द गरेको चार दिन नबित्दै नेपालमा भारतीय च्यानलहरू खोलिएका छन् ।









































