कैलाली, 4 जुलाई 2020
सामाजिक सेवा खासगरि देशहितमा खबरदारी र राष्ट्रीय एकताका लागि काम गर्दै आएको संगठन नेपाली देशभक्त युवा समाजले शनिबार आफ्नो छैठौं वार्षिकोत्सव मनाएको छ । राजधानीको माईतिघर मन्डलामा नेपालकै सबै भन्दा ठूलो राष्ट्रीय झन्डा फहराएर देशभक्तिको ठूलो नमूना पेश गरेको नेपाली देशभक्त युवा समाजले आज कैलाली जिल्लाको बौनिया बर्दगोरीया गाउपालिकास्थित सहारा घरमा राष्ट्रीय झण्डा फहराउनुका साथै सहारा घरका असहाय व्यक्तिहरुलाई भोजन गराएर मनाएको छ । कोभिड-19 महामारीका कारण कार्यक्रम भव्यताका साथ मनाउने अवस्था नरहेपछि समाजले असहाय व्यक्तिरुलाई सेवा गरि वार्षिकोत्सव मनाएको हो ।

सामाजिक दूरीलाई ख्याल गरि सहारा घरमा सिमीत संख्यामा संस्थाका सदस्यहरु उपस्थित रहेका थिए । संस्थाका संस्थापक/ केन्द्रीय अध्यक्ष नारायण प्रसाद ढुङ्गानाको साथमा टीका राम जैसी, प्रेमबहादुर बोहरा, देब्रेन्द कठायत, सुदिप बिक, बसन्त बास्तोला र दिपेन्द्र सँञ्जायल र सहारा घरका सेवक सेविका पाहुनाहरुको उपस्थितिमा मनाइएको हो । संस्थाका केन्द्रीय सदस्यहरुले सहारा घरमा विभिन्न जातका ६ वटा बिरुवाहरु पनि रोपेको छ ।

समारोहमा बोल्दै अध्यक्ष ढुङ्गानाले देशलाई माया र सम्मान गर्नेहरुले एकताबद्द हुन जरुरी रहेको भन्दै नेपाली देशभक्त युवा समाजको यात्रामा जोडिन देशप्रेमी नेपाली नागरिकहरुलाई आह्वान गर्नुभएको छ ।

नेपाली देशभक्त युवा समाज नेपालसहित अन्य कयौं मलूकहरुमा पनि सक्रीय रहेको छ । यसले आवश्यक परेका असहाय नेपालीहरुलाई सहयोग पनि गर्दै आएको छ ।









































