सोरेङ, ६ अगस्ट (सरोज गुरुङ)
बुधबार राति रंगीत नदीले व्यापक ताण्डव मच्चाएको छ। सामान्य जलस्तर भन्दा तीन गुणा बढी नदीमा जलस्तर बढेको हुँदा करोडौं रुपियाँ बराबर नोक्सानी भएको अनुमान लगाइएको छ। बैगुणे नजिक रहेको घुमाउने स्टोन क्रसर प्लान्ट र मिक्सर प्लान्ट बगाएर नामनिशान मेटाइदिएको छ। उक्त स्टोन क्रसर प्लान्ट र मिक्सर प्लान्टका मालिक बढियाखोप निवासी राजेश कुमार खड्का हुन्। अचानक उर्लिएर आएको रंगीत नदीले खड्काको करोडौं रुपियाँ बराबरको मेसिनहरु सबै बगाएर लागेको बताइएको छ। उक्त स्थानमा दुई करोड पचास लाख रुपियाँको एउटा स्टोन क्रसर प्लान्ट, एउटा जेसीबी मेसिन, एक करोड पचास लाख मूल्यको मिक्सर प्लान्ट पनि रंगीतले क्षतिग्रस्त बनाएको छ भने एउटा जेसीबी मेसिनलाई नदीले बगाएर लगेको बताइएको छ। यस अतिरिक्त प्लान्टमा रहेका लाखौं रुपियाँ बराबरको दस, बीस र चालिस एमएम गिटी बगाएर स्वाहा बनाएको छ। प्लान्टमा रहेका शौचालयसहित लाखौं रुपियाँ बराबरको जमीन नामनिशान मेटाएर बगाएको भनाई पीडित पक्षको छ। उल्लेख, घुकाउनेस्थित स्टोन क्रसर र मिक्सर प्लान्ट रंगीत नदी छेवैमा रहेको थियो। यसै प्लान्टबाट धेरै मानिसहरुले गिटी र बलुवा ल्याउने गर्थें। सरकारी पूर्वाधारहरु निर्माणको लागि पनि निकै जसो यहाँबाटै गिटी बलुवा सप्पाई गरिँथ्यो।

बुधबार राति रंगीत नदीले छेउछाउमा बसोबास गरेका बासिन्दाहरु रातभर सुत्न दिएनन्। यहाँ नदीले व्यापक क्षयक्षति गरेको छ। मसिना नानीहरुदेखि लिएर वृद्ध मानिसहरु समेत मध्यरातको अन्धकारमा सडकमा निस्किएको थियो। रंगीत नदी उर्लिएर आएपछि ठूलै ताण्डव मच्चिने आशंकाबिच नदी छेउछाउ बसोबास गर्ने मानिहरु घर छोडेर सुरक्षित स्थान खोज्न बाहिर निस्केका थिए। पश्चिम सिक्किमको रेसी बजार, रोथक, पिपले, बैगुणे, घुमाउने, सिप्सु, सिकिप, लेगसेप सँगसँगै नदी छेउछाउमा बसोबास गर्ने मानिसको जमीन साथै कतिपयको घरलाई क्षति पुर्याएको छ। ती ठाउँका धेरै मानिसहरुलाई रातीनै पुलिसले सुरक्षित स्थानमा लगेर राखेको बताइन्छ। मानिसहरुमा जल पावरको ड्याम्प फुट्यो भन्ने होहल्ला पनि राति निस्पट अन्धकारमा चल्यो तर उक्त ड्याम्प सुरक्षित रहेको जानकारी पाइएको छ। नयाँ बजार पुलिसले पनि बाढीले खतरा उत्पन्न गर्न सक्ने अनुमान लगाउँदै रातीनै मानिसहरूलाई सुरक्षित स्थानमा सारेको थियो।

अर्कोतिर लेगसेपस्थित प्रख्यात किरातेश्वर शिवालय मन्दिरलाई पनि क्षति पुर्याएको जानकारी छ। प्रभावित क्षेत्रहरुमा सम्बन्धित निकायका अधिकारीहरुले आज स्थलगत निरीक्षण भ्रमण गरे। यद्यपि यी सबै क्षेत्रमा कति क्षयक्षति भयो भन्ने कुरा आधिकारिक बयान आएको छैन। तर पनि स्थानीय नागरिकहरुको भनाई अनुसार धेरै नोक्सानी भएको अनि धेरैजनाको घरलाई आउँदो दिनमा खतरा उत्पन्न भएको छ। धेरै वर्ष पश्चात् रंगीत नदीको भीषण रूप देखेको पनि प्रत्यक्षदर्शीहरुको भनाई रहेको छ। रोथकस्थित पावर हाउसलाई पनि रंगीत नदीले व्यापक क्षति पुर्याएको रिपोर्ट छ।
बुधबारको मुसलधारे पानीले पश्चिम जिल्ला अन्तर्गत दर्जनौं सडकलाई अवरुद्ध गरेको रिपोर्ट यस संवाददातालाई प्राप्त भएको छ। पश्चिम जिल्लाको अतिनै ब्यस्त नयाँ बजार-लेगसेप रोड पनि चुढिएर झर्ने स्थितिमा पुगेको छ। सानोतिनो पैह्रोहरु धेरै जग्गामा गएको छ। लोवर कामलिङमा एउटा घर पैह्रोले पूर्णरूपले क्षतिग्रस्त बनाएको छ। ती घरका मानिसहरुलाई पहिलाबाटै अन्य ठाउँमा सारिएको जानकारी प्रशासनले दिएको छ।









































