काठमाडौं, 16 सेप्टेम्बर 2020
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपालले आफुले पार्टीमा फरक मत राखेको नभई सुझाव प्रस्तुत गरेको स्पस्ट पार्नुभएको छ। पार्टी भित्र सहमति भइसक्दा समेत असन्तुष्टि जनाउनुभएका वरिष्ठ नेता नेपालले सहमतिलाई अझबढी जोड दिन आफुले १७ बुँदे सुझाव प्रस्तुत गरेको बताउनुभएको हो। बुधबारको कुराकानीमा वरिष्ट नेता नेपालले स्थायी कमिटीका अन्य सदस्यहरुले पनि लिखित र मौखिक रुपमा सुझावहरु दिएको उल्लेख गर्दै आफुले राखेका विषयहरुलाई पनि सुझावका रुपमा लिनुपर्ने बताउनुभयो। आफुले राखेको सुझावले पार्टीलाई ट्रयाकमा ल्याउने, अगाडि बढ्न गति प्रदान गर्ने र अधिकतम उद्देश्यलाई साकार पार्न सहयोग गर्ने बताउनुभयो। अधिकतम उद्देश्यलाई पुरा गर्न नसके पार्टीको औचित्य नै नरहने भएकाले आफुले सहमतिलाई मजबुत बनाउन र अझबढी बहस गर्नुपर्ने आवश्यकता देखेकाले सुझाव प्रस्तुत गरेको स्पस्ट पार्नुभयो ।
यस्तै नेता नेपालले महाधिवेसन पछि बन्ने पार्टीका संरचनाहरु छरितो हुनुपर्ने बताउनुभएको छ । उहाँले पार्टीका विभिन्न संगठन तथा कमिटीहरु छरितो भएमात्रै संगठन गतिशिल हुने र जनताको बृहत्तर हितका लागि काम गर्न सक्ने बताउनुभयो। उहाँले भन्नुभयो ‘जुन पार्टीको टाउको ठूलो छ त्यो पार्टी सुक्न थाल्यो भनेर बुझ्न थालेहुन्छ । टाउको ठूलो भूडि ठूलो भयो भने त्यो मान्छे रोगि हो भनेर बुझ्नुभएहुन्छ । जसको जिउ पातलो छ टाउको पनि ठिक्क छ, दिमाग सफा छ, र खुट्टा बलियो छ भने त्यसले जस्तो सुकै जिम्मेवारी बहन गर्न सक्छ । चुनौतिको सामना गर्नसक्छ । पार्टीको हकमा पनि त्यही लागू हुन्छ । पार्टीका दुईवटै खुट्टा र हात दह्रो हुनुपर्योॆ, जिउ सिलिम हुनुपर्यो, कमिटिहरु सिलिम हुनुपर्यो ।’वरिष्ठ नेता नेपालले भदौ २५ गते स्थायीक कमिटीमा जुटेको सहमतिले पार्टीलाई नयाँ दिशा दिने विश्वास समेत व्यक्त गर्नुभयो । साथै आफुले लामो समय देखि उठाउँदै आएको एक व्यक्ति एक जिम्मेवारीको विषय लागू भएको समेत बताउनुभयो ।









































