काठमाण्डौ, 6 सितम्बर 2021
नेपाली काँग्रेसका नेता गगनकुमार थापाले पार्टीलाई व्यवस्थित र विधानसम्मत तरिकाले चलाउनका लागि आफूले महामन्त्रीको उम्मेद्वारी दिएको बताउनुभएको छ । सोमवार काठमाडौंमा आयोजित नेपाली काँग्रेसको १४औँ महाधिवेशन नेतृत्व विकास र भूमिका विषयक अन्तरक्रिया कार्यक्रममा नेता थापाले पार्टीको महामन्त्री बनेपछि ४ वर्षमा अधिवेशन गराउने र पार्टीका साथीहरुलाई अनसन बस्नुपर्ने स्थिती आउन नदिनको लागि महामन्त्रीमा उम्मेद्वारी दिएको बताउनुभएको हो । नेता थापाले पार्टीका आन्तरिक समस्याहरुलाई हल गर्न सके मात्र पनि आधा समस्या समाधान हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले पार्टीको व्यवस्थापन गर्न नसक्नेले देश, नगर, शहर बनाउँछु भनेर नपत्याउने बताउनुभयो । नेता थापाले नयाँ काँग्रेस पुरानो दिनहरुलाई सम्झिएर बनाउनका लागि नौजवानको आवश्यक रहेको बताउनुभयो । नेता थापाले भन्नुभयो, ‘नेपाली काँग्रेस पार्टी विधानको अक्षर अक्षर पालना गरेर चलेन भने यो पार्टीले आफ्नो स्थिती बसाल्न सक्दैन, अहिले हामीले पाएको धेरै दुःखको कारण यही हो, पार्टीलाई अक्षरशः विधानको आधारमा चलाउन सक्यो भने हाम्रो धेरै समस्याको हल हुन्छ, मलाई केही नेताहरुले महामन्त्री बनेपछि के गर्छस् भनेर सोधेका छन्, म महामन्त्री बनेपछि पहिलो कुरा पार्टीको अधिवेशन ४ वर्षमा गराउँछु र अहिले जस्तो पार्टीका साथीहरुलाई पार्टी कार्यालयमा आएर अनसन बस्ने स्थिती सिर्जना गर्न दिन्न, यति मात्रै गर्न सके पनि आधा समस्या हल भएर जान्छ, खास गरी नौजवान साथीहरुलाई मेरो अपील छ, आह्वान छ, तपाई हामी मिलेर यस्तो काँग्रेस बनाउनुपर्नेछ, काँग्रेस नयाँ बनाउने हो तर पुरोनो दिनलाई सम्झिएर बनाउने हो ।’ नेता थापाले ठूला ठूला कुरा नगरी स सानो काम पूरा गरेर देखाउने काम गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो । देशमा संविधानको शासनको पक्षमा उभिने काँग्रेस आफ्नो पार्टीभित्र पनि विधिको शासन स्थापित गरेर छोड्ने बताउँदै उहाँले ठूला नेताहरुले साथ दिएर पार्टीलाई अघि बढाउनु पर्ने बताउनुभयो । अहिले नेपाली काँग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाको घरमा अपरिचित समितिले क्रियाशील सदस्यताको बारेमा गर्नै नहुने काम गरिरहेको बताउनुभयो ।









































