काठमाण्डौ, 25 डिसेम्बर 2020
नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सर्वोच्च अदालतले संसद विघटनको कदम असंवैधानिक भनि फैसला गर्ने विश्वास व्यक्त गर्नुभएको छ । शुक्रबार नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष प्रचण्ड र माधवकुमार नेपाल समुहको केन्द्रीय कमिटी बैठकको निर्णय तथा पार्टीको आगामी कार्यक्रमको बारेमा जानकारी दिन गरिएको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष प्रचण्डले संसद विघटनको कदम विरुद्ध नेकपा सर्वोच्च अदालतमा गएको र अदालतले संसद विघटन अलोकतान्त्रिक, असंवैधानिक भनि फैसला गर्नेमा भरोसा रहेको बताउनुभएको हो । उहाँले सर्वोच्च अदालतले संविधानको व्यवस्था अनुसार नै फैसला गर्ने विश्वास व्यक्त गर्नुभयो ।
अध्यक्ष प्रचण्डले सरकारको असंवैधानिक र निरंकुश कदका विरुद्ध शुक्रबारदेखि नै आन्दोलन थालेको बताउँदै समस्या समाधान नभए अझ सशक्त आन्दोलन गर्ने घोषणा गर्नुभयो । सरकारले संविधान विपरितको कदम चालेकाले अग्रगमन चाहने शक्ति एकताबद्ध हुन उहाँले अपिल समेत गर्नुभयो । अध्यक्ष प्रचण्डले बहुमत सदस्यको उपस्थिति र हस्ताक्षरमा केन्द्रीय कमिटी बैठक बसेको र निर्वाचन आयोगमा सशरिर उपस्थित हुन सक्ने भन्दै पार्टीको नाम, चुनाव चिन्ह, लोगो लगायत पार्टीको आधिकारिकता आयोगले आफुहरुलाई दिनुपर्ने दाबी गर्नु भयो । उहाँले विद्यमान संविधान र ऐन बमोजिम निष्पक्ष निर्णय दिनेमा निर्वाचन आयोग प्रति विश्वास रहेको बताउनुभयो ।
अध्यक्ष प्रचण्डले नयाँ संविधान बनाउँदा नै प्रधानमन्त्रीले संसद विघटन गर्न नपाउने व्यवस्थालाई राखिएको भएपनि प्रधानमन्त्री ओलीबाट निर्ममतापूर्वक लोकतन्त्रको हत्या गरिएको बताउनुभयो । यसको विरुद्ध सबै राजनीतिक दल, नागरिक समाज, संघसंस्था, पत्रकार लगायत सबै एकजुट भएर लाग्नुपर्ने धारणा राख्नुभयो । सञ्चारकर्मीहरुको जिज्ञासाको उत्तर दिदैँ अध्यक्ष प्रचण्डले प्रधानमन्त्री ओलीसँग पहिले गरेका सहमतीको कार्यान्वयन गर्दै जाउँ अथवा महाधिवेशन अघि विशेष राष्ट्रिय सम्मेलनबाट पार्टीको समस्या हल गरौँ भन्ने प्रस्ताव राखेको तर प्रधानमन्त्रीले सुन्दै नसुनी संसद विघटन गरेको आरोप लगाउनुभयो । सरकारलाई आफुहरुले सहयोग नगरेको भन्नेकुरा गलत भएको समेत अध्यक्ष प्रचण्डले बताउनुभयो ।









































