नयाँ दिल्ली, 17 जुलाई 2020
प्रधानमन्त्री केपी शर्मा ओलीले भारतको संवेदनशील मुद्धामा नेपालको दावी गर्दा भारतमा बस्ने नेपालीहरुले तनावमा छन । नेपाल-भारतबिच बेला-बेलामा हुने खटपटले नबिग्रीएको सम्बन्ध अब प्रधानमन्त्री केपी शर्मा ओलीले भगवान रामबारे दिएको बयानले भारत चिढिएको छ । केही समय पहिले नेपालले लिपुलेक, लिम्पियाधुरा र कालापानीलाई समेट्ने गरि नयाँ नक्सालाई वैधानिकता दिन संविधान संशोधन प्रस्ताव पारित गरेर चिढिएको भारत अयोध्या मुद्धाले थप चिढिएको छ ।
134 वर्ष पहिलेको अयोध्या विवादलाई केही समयअघि मात्रै अदालतद्वारा टुङ्ग्याएर राम मन्दीर बनाउन लागेको भारत सामु अचानक प्रधानमन्त्री ओलीले अयोध्या नेपालमा भएको भनेपछि भारतभर त्यसको विरोध छ । अयोध्या र राम मुद्धा भारतका लागि संवेदनशील मुद्धा भएकाले उनिहरुलाई लाग्छ यो मुद्धामा प्रहार गरेर नेपालका प्रधानमन्त्रीले ठूलो गल्ती गरेका छन ।
वास्तवमा प्रधानमन्त्री केपी शर्मा ओलीले दिएको बयानको केही पक्षले समर्थन गरेपनि ठूलो नेपाली समाज भने त्यसको विरोधमा छ । नेपाल-भारत सम्बन्ध धार्मिक आस्थासँग जोडिएको भएपनि त्यसैमाथि प्रहार गरेर प्रधानमन्त्री केपी शर्मा ओलीले गलत गरेको भारतमा बस्ने नेपालीहरुको टिप्पणी छ। भारतसँग मतभेद भएका विषय उठाउनु जायज भएपनि मतभेदै नभएका विषयमा गैर-जिम्मेवारपूर्ण तरिकाले बयान दिनु जोरी खोज्नुबाहेक अरु केही पनि होइन भारतमा रहने नेपालीहरु सामाजिक सञ्जालमा लेखिरहेका छन ।
यद्धपी प्रधानमन्त्री केपी शर्मा ओलीले दिएको बयानको विरोध गर्दै केही सन्तहरुले अब भारतमा रहिरहेका नेपाली नागरिकहरुलाई यहाँबाट निकाल्नुपर्ने आशयको अभिव्यक्ति दिएपछि विश्व हिन्दु परिषद् र अखिल भारतीय संत समितिले विरोध गरेका छन ।
भारतमा कम्प्युटर बाबाका नामले प्रसिद्ध संतले नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले चीनको इशारामा अयोध्या विवाद खडा गरेको भन्दै यदी नेपालका प्रधानमन्त्रीले बयान फिर्ता लिदैनन् भने भारतमा काम गर्ने नेपालीहरुलाई नेपाल फिर्ता गर्ने भन्नुभयो । त्यसपछि विश्व हिन्दु परिषद्का महामन्त्री मिलिन्द परांडेले कम्प्युटर बाबाको बयानको निन्दा गर्दै नेपालको हिन्दु समाज अयोध्या र रामभक्त भएको भन्दै भारतमा रहिरहेको सम्पूर्ण नेपाली हिन्दु समाज भारतमा सुरक्षित रहेको बताउनुभयो । त्यसैगरि अखिल भारतीय सन्त समितिका महामन्त्री पूज्य स्वामी जितेन्द्रानन्द सरस्वतीले पनि नेपाल भारतको सम्बन्ध नबिग्रने भन्दै कयौं ओली र कम्प्युटर बाबा आएपनि सम्बन्ध नबिग्रने बताउनुभयो । यस सम्बन्धमा राष्ट्रीय स्वयम सेवक संघ RSS ले पनि नेपाल भारतको सम्बन्धलाई तोड्न सुनियोजित रुपमा यस्ता बयानबाजी आएको र त्यसपछि भारतमा रहने नेपालीहरुबारे यस प्रकारको टिप्पणी भएको भन्दै यस्ता तत्वबाट टाढा रहन भनेको छ ।

1. कम्युटर बाबा 2. विश्व हिन्दु परिषद् 3. अखिल भारतीय सन्त समिति
त्यसैगरि भारत सरकारले पनि यस विषयमा बोल्दै नेपालका प्रधानमन्त्री केपी शर्माले दिएको विवादित बयानपछि नेपाल सरकारले स्पष्टीकरण दिइसकेको भन्दै यसमा थप बोल्नुपर्ने आवश्यक्ता नरहेको बताएको छ । हिजो गरिएको पत्रकार सम्मेलनमा भारतीय विदेश मन्त्रालयका प्रवक्ता अनुराग श्रीवास्तवले विवादित बयानबारे नेपाल सरकारले स्पष्टीकरण दिइसकेकाले यसमा थप नबोल्ने बताउनुभयो ।

विगतका जस्तासुकै विवादले जन-जनबिचको सम्बन्धमा असर नपरेको भए पनि राम विवादले नेपालीमाथि दुर्व्यवहार हुन सक्ने आशंका नेपालीहरुबिच बढेको थियो । प्रधानमन्त्री केपी शर्मा ओलीको बयानको विरोध गर्दै वाराणसीमा विश्व हिन्दू सेनाका कार्यकर्ताले एक नेपालीको कपाल खौरिएर टाउकोमा जय श्रीराम लेखेको भीडियो आएको थियो । समाचारमा नेपाली नागरिकलाई बलपूर्लक त्यसो गरिएको भनिएको छ ।
यसैगरि ओलीको बयानको विरोध गर्दै काशीको ललिताघाटमा रहेको पशुपतिनाथ मन्दिरमा एक पोस्टर टाँसेर प्रधानमन्त्री ओलीले अयोध्याका सम्बन्धमा गरेको टिप्पणी फिर्ता नलिए त्यसको परिणाम भारतमा रहेका नेपालीहरुले ब्योहोर्न पर्ने चेतावनी दिइएको समाचार आएको छ । यी दुई विषयहरुमा भने भारतका लागि नेपालका राजदूत निलाम्बर आचार्यले उत्तर प्रदेशका मुख्यमन्त्रीसँग कुरा गरि नेपालीहरुबारेको चिन्ता प्रकट गर्नुभएको छ । कुराकानीका क्रममा मुख्यमन्त्री योगी आदित्यनाथ र राजदूत आचार्यले नेपालीहरुको सुरक्षालाई ध्यानमा राखिने र नेपाल भारतबिचको सम्बन्ध नबिग्रनेमा जोड दिइनेमा एकमत देखिएका थिए ।

राजदूत आचार्यले बनारसमा एक नेपाली युवकमाथि विश्व हिन्दु सेनाका तर्फबाट भएको दुर्व्यवहारबारे पनि मुख्यमन्त्री कार्यालयसँग कुराकानी भएको ट्वीटर मार्फत जानकारी दिनुभएको छ ।
गत सोमबार भानुजयन्तीको अवसरमा बालुवाटारमा आयोजित एक कार्यक्रममा प्रधानमन्त्री ओलीले राम भारतको अयोध्यामा नभई नेपालमा जन्मिएको बताउनुभएको थियो । त्यसपछि भारतका सत्तारुढ दलका नेतादेखि लिएर प्रतिपक्ष दल काँग्रेसका नेता र सन्तहरुले समेत विरोध गरिरहेका छन ।









































