काठमाण्डौ, 3 सेप्टेम्बर
सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठकले पार्टी उपाध्यक्ष बामदेव गौतमलाई राष्ट्रियसभामा लैजाने निर्णय गरेको छ । प्रधामन्त्री निवास बालुवाटारमा आज बसेको बैठकले उपाध्यक्ष गौतमलाई राष्ट्रियसभाको रिक्त पदमा लैजाने निर्णय गरेको हो । पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले गौतमलाई राष्ट्रियसभामा लैजाने निर्णय भएको बताउनुभयो । बैठकमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले गौतमलाई राष्ट्रियसभाको रिक्त सदस्य पदमा मनोयनका लागि सिफारिस गर्ने बताउनुभएको प्रवक्ता श्रेष्ठले बताउनुभयो । यस्तै बैठकले पार्टीको विवाद समाधानका लागि गठित कार्यदले बुझाएको प्रतिवेदनमाथि प्रारम्भिक छलफल गरेको छ । कार्यदलबाट प्राप्त सुझावसहितको प्रतिवेदन र बैठकमा छलफलको क्रममा आएका विचारहरुलाई समेत ध्यान दिएर अध्यक्षद्वयले आवश्यक प्रस्ताव तयार गर्ने निर्णय भएको उहाँले बताउनुभयो । पार्टी, सरकार र जारी स्थायी कमिटीमा बैठकमा प्रस्तुत प्रस्तावका सम्बन्धमा निर्णय गर्न पनि अध्यक्षद्वयले छलफल गर्नेछन । स्थायी कमिटीमा अध्यक्षद्वले तयार पारेको प्रस्ताव पेश गरी छलफल हुने र त्यहाँ आएका सुझावहरुलाई समेत ध्यान दिएर ठोस कार्ययोजना सहितको निर्णय प्रस्तावलाई अन्तिम रुप दिएर सचिवालयमा प्रस्तुत गरिने उहाँले बताउनुभयो । सचिवालय बैठकबाट पुनः स्थायी कमिटीमा प्रस्ताव लगेर ठोस निर्णय हुने प्रवक्ता श्रेष्ठले बताउनुभयो । निषेधाज्ञा हटेपछि छिटोभन्दा छिटो स्थायी कमिटी बैठक बोलाइने उहाँको भनाई छ । असार १० गतेबाट जारी बैठकमा पार्टीभित्रको आन्तरिक विवादका कारण अनिश्चित भएको छ ।
बैठकले बागलुङमा आएको बाढीमा परेकाहरुको उद्धार, राहत र पुनस्र्थापनामा तिव्रताका काम गर्न सरकारलाई आग्रह गर्दै पार्टीका नेता कार्यकर्ताहरुलाई पनि उद्धार, राहत र पुनस्र्थापनामा जुट्न निर्देशन दिएको छ ।
बैठकमा प्रधानमन्त्री ओलीले कोरोना संक्रमणको तिव्रता र त्यसको नियन्त्रणका लागि सरकारले गरिरहेका कामहरुको बारेमा समेत ब्रिफिङ गर्नुभएको थियो ।









































