11 अक्टूबर 2021
प्रमुख प्रतिपक्षी नेकपा एमालेले बुटवलस्थीत मोतीपुरमा भएको घटनाको निष्पक्ष छानबिन गर्न माग गरेको छ । राष्ट्रियसभाको सोमबारको बैठकको सुरुमै एमाले संसदीय दलका प्रमुख सचेतक खिमलाल भट्टराईले मोतीपुरमा सुकुम्बासीको आन्दोलनका क्रममा चार जनाको ज्यान गएको घटनाका बारेमा सरकारको जवाफ माग गर्दै घटनाको निष्पक्ष छानबिन गर्न माग गर्नुभएको हो । उहाले घाइतेको उपचारका प्रबन्ध गर्न, मृतकको क्षतिपूर्तिको व्यवस्था गर्न पनि माग गर्नुभयो । अरुका लागि दशै आएपनि सुकुम्बासीका लागि दशा आएको भन्दै दशा निम्ताउने काम सरकारले गरेको उहाले बताउनुभयो । उहाले त्यहि जिल्लाका गृहमन्त्री केन्द्रमा रहेपनि मौन रहेको भन्दै गृहमन्त्रीलाई कुर्सीमा बस्ने नैतिकता नभएको जिकिर गर्नुभयो । त्यस्तै भट्टराईले दार्चुला घटनामा पनि गैरजिम्मेवार भएको बताउनुभयो । दुषित र कमजोर राजनीतिको सुरुवात भएको र जसका कारण लोकतन्त्र र गणतन्त्र कमजोर भएको आरोप लगाउनुभयो । यसअघिका आफ्ना मागहरुका बिषयमा कुनै सम्बोधन नभएको भन्दै उहाले सोमबार पनि राष्ट्रिय सभा बैठकमा बिरोध जारी रहेको बताउनुभयो । बैठकमा कानूनमन्त्री दिलेन्द्र बडुले राष्ट्रियसभामा उत्पती भई प्रतिनिधिसभामा बिचाराधीन रहेको रेल्वे बिधेयक २०७६ लाई फिर्ता गर्न सभाको सहमतिका लागि प्रस्तुत प्रस्तावलाई स्वीकृत गरेको छ । त्यस्तै बैठकमा दशैको शुभकामना दिदै राष्ट्रियसभा अध्यक्ष गणेश तिमिल्सिनाले जनताका चाहना अनुसार मुलुकलाई सहमतिका साथ नै बिकासको बाटोमा अघि बढाउनुपर्ने बताउनुभयो । राष्ट्रियसभाको बैठक अर्को सूचना जारी नभएसम्मका लागि स्थगीत भएको छ ।









































