काठमाण्डौँ, 13 अप्रेल
प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड–19 संक्रमणको महामारीका कारण नयाँ वर्षलाई अप्ठ्यारो परिस्थितिमा स्वागत गर्न बाध्य भएको बताउनुभएको छ। सोमबार नयाँ वर्ष 2077 को अवसरमा शुभकामना सन्देश दिँदै महामारीको बिचमा बसेर असहज परिस्थितिमा भारी मनका साथ नयाँ वर्षको शुभकामना दिनुपरेको बताउनुभयो। उहाँले देशभित्र र बाहिर रहेका सबै नेपालीहरुलाई कोरोना भाइरसबाट बँच्न र संक्रमण भएकाहरुलाई विजय हासिल गर्न सक्नुहोस् भन्दै शुभकामना दिनुभयो। उहाँले कोरोना भाइरसको संक्रमणको जोखिम नभएको भए देशमा आर्थिक विकासका गतिविधिहरुको विश्लेषण र विमर्श गरिरहेको अवस्था हुने बताउँदै कोरोना भाइरसको संक्रमणको जोखिम कम भएपछि पनि ती सबै गतिविधिहरुलाई अगाडि बढाउने प्रतिवद्धता जनाउनुभयो।
प्रधानमन्त्री ओलीले कोरोना भाइरस महामारीका कारण भयाभह अवस्था सिर्जना भई सामाजिक सम्बन्ध जोड्ने धागो टुटेको बताउनुभयो। उहाँले कोरोना विरुद्धको लडाइँ जित्न सबै नागरिक एकबद्ध भई आत्मविश्वास र उच्च मनोबलको खाँचो पर्ने बताउँदै संक्रमणको चपेटामा परेका सबैको अभिभावकत्व सरकारले लिने बताउनुभयो। उहाँले आफैलाई जोखिममा राखी उपचारमा संलग्न स्वास्थ्यकर्मीहरु र सुरक्षामा अहोरात्र खट्ने सुरक्षाकर्मीहरुको व्यक्तिगत र व्यवसायीक सुरक्षामा कुनै कमी हुन नदिने प्रतिवद्धता समेत जनाउनुभयो।
अधिकांश नागरिकहरुमा कोरोना भाइरसबारे आधारभूत जानकारी पुगेको र त्यसबाट जोगिन अपनाउनु पर्ने कदमबारे सचेत रहेको विश्वास समेत प्रधानमन्त्री ओलीले व्यक्त गर्नुभयो। उहाँले आउँदो सातासम्ममा महामारीको वेगको पूर्वानुमान हुन सक्ने हुँदा त्यसपछि मात्र समग्रमा मूल्याङ्कन गरी अगाडि बढ्ने बताउनुभयो। यस्तै बैशाख ३ गते लकडाउनको दोस्रो समायवधि पुरा हुने र दुई दिनको बिचमा सरकारले कस्तो नीति लिने भन्ने निर्णय गर्ने समेत बताउनुभयो। जस्तोसुकै प्रतिकूल अवस्थामा पनि आपूर्ति प्रणालीलाई कमजोर हुन नदिने समेत उहाँले बताउनुभयो।
प्रधानमन्त्री ओलीले सरकारले अर्थतन्त्रको पुनरुत्थानको प्याकेज नीति तथा कार्यक्रम र बजेटमार्फत सम्बोधन गरिने समेत बताउनुभयो। कोरोना भाइरसको महामारी समाप्त नभएसम्मका लागि आफ्नो फरिश्रमिक कोभिड-19 प्रधानमन्त्री राहत कोषमा जम्मा गर्ने उहाँले बताउनुभयो। कोरोना भाइरसको महामारीले सिर्जना गरेका चुनौतिलाई अवसरमा रुपान्तरित गर्न प्रयास गरिने समेत बताउनुभयो। विश्वव्यापी रूपमा देखा परेको यस संकटको समाधान, विश्वव्यापी साझेदारी र सहयोगबाट मात्र सम्भव रहेको बताउँदै प्रधानमन्त्री ओलीले कोरोना भाइरसको विरुद्धमा मित्र राष्ट्रहरुबाट प्राप्त भएको सहयोग, सद्भाव, र एक्यबद्धता प्रति आभार प्रकट गर्नुभयो।









































