नयाँ दिल्ली, 13 अप्रेल
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी भोली राष्ट्रका नाममा सम्बोधन गर्नुहुनेछ। प्रधानमन्त्री मोदीको कार्यालयले मंगलबार बिहान 10 बजे राष्ट्रका नाममा सम्बोधन गर्ने जानकारी दिइएको छ। गत मार्च 25 देखि जारी 21 दिनको लकडाउन सकिन 1 दिन अघि मोदीले राष्ट्रका नाममा सम्बोधन गर्न लाग्नुभएको हो। मोदीले लकडाउनको अवधि बढाउने घोषणा गर्ने अनुमान गरिएको छ।
कोरोना भाइरसको महामारीका बीच लकडाउन चलिरहदा मोदीले पटक-पटक सम्बोधन गरेर आम जनतालाई कोरोनाबाट बच्न सामाजिक दुरी बनाउन अपिल गर्दै आउनुभएको छ। भारतमा अप्रेल 30 सम्म लकडाउनको अवधि बढाउने तयारी गरिएको सुत्रहरूले जानकारी दिएका छन्।
भारतमा केन्द्र सरकारले लकडाउनको अवधि नथप्दै कैयौँ राज्यले लकडाउनको अवधि बढाईसकेका छन्। यसरी लकडाउन बढाउने राज्यमा पंजाब, पश्चिम बङ्गाल, तेलंगाना, महाराष्ट्र र उडीशा छन् यी राज्यहरूमा 30 अप्रेलसम्मका लागि लकडाउन घोषणा गरिएको छ।









































