बैंगलोर, 28 अगस्त 2020
कर्नाटक राज्यको बेङ्गलोरमा एक नेपाली युवकद्वारा शोषणमा परेको भनिएकी झापाकी एक महिलालाई उद्धार गरि नेपाल पठाइएको छ । दार्चुलाका एक युवकले विवाह गर्ने बहानामा तीन महिनासँगै बसेर 1 लाखभन्दा धेरै रकम लिएर फरार भएको भन्दै सामाजिक सञ्जालमा आएर सहयोगको अपील गर्ने झापाको सुरुङ्गाकी वेदमाया बजगाईलाई आज प्रगतिशील नेपाली समाज कर्नाटक राज्य समिति बेङ्गलोरले विमान मार्फत नेपाल पठाएको हो । वेदमायाले दार्चुलाका एक व्यक्तिले शारीरिक र आर्थिक शोषण गरेर फरार भएको भन्दै सामाजिक सञ्जाल मार्फत सहयोग गर्न अपील गरेपछि प्रगतिशील नेपाली समाज भारतले उद्धारको पहल गरेको थियो । प्रगतिशील नेपाली समाज भारत, बेङ्गलोरका अध्यक्ष राजेश कुमार रावल र सदस्य आरजे ठकुरीको नेतृत्वमा वेदमाया बसेको घरको एक महिनाको भाडा तिरेर आज विमान मार्फत बागडोग्रा विमानस्थल हुँदै झापा पठाएको हो ।
संगठनको कला तथा सास्कृति विभाग प्रमुख हरिदत्त जोशी ,नवराज बिस्ट, गोकर्ण धामी, मिना साउद, भाईचारा तथा कुटनैतिक विभाग प्रमुख गणेश नगार्जीले आर्थिक सहयोग गरेका थिए ।

कसरी परिन शोषणमा
रोजगारीको सिलसिलामा कोरिब 1 वर्षअघि भारतको बेङ्ग्लोर आएकी उनिसँग विवाह गर्ने बहानामा सुदूरपश्चिम प्रदेशको दार्चुलाका गणेश भट्ट नाम बताउने एक व्यक्तिले शारीरिक र आर्थिक शोषण गरेर फरार भएको उनले बताएकी थिइन। 12 वर्षअघि श्रीमानसँग सम्बन्ध विच्छेद भएपछि उनि छोराछोरीको पालन पोषणका लागि पैसा कमाउनका लागि बेङ्गलोर आएकी थिइन । उनको बेङ्गलोरमा रोजगारी राम्रै चलिरहेको बेला गणेश भट्टले विवाह गर्ने बहानामा 3 महिनादेखि सँगै बस्न थालेको बताएकी थिइन । तर लकडाउनका क्रममा गणेश उनले कमाएको पैसा समेत लगेर फरार भएको महिलाले नेशनल लाईभलाई बताउँदै आफुलाई आर्थिक अभाव भएको र नेपाल घर फिर्ता जान चाहेकोले सहयोग गर्न उनले आग्रह गरेकी थिइन ।
त्यसपछि जनता समाजवादी पार्टी नेपालको जनवर्गीय संगठन प्रगतिशील नेपाली समाज भारत सहयोगका लागि अगाडी आएको थियो । प्रगतिशील नेपाली समाज भारत कर्नाटक राज्य समिति अध्यक्ष तथा केन्द्रिय उपाध्यक्ष राजेश कुमार रावलको अध्यक्षतामा प्रगतिशील नेपाली समाज भारत केन्द्रिय सचिव जनक आउजी (सिलाल) लगायत दलित सेल्पी विभाग भारतका अध्यक्ष तथा कर्नाटक राज्य सचिव सुरेन्द्र नङ्गराजीको विशेष सहयोगमा कर्नाटक राज्य समिति उपाध्यक्षद्वय नरिलाल उपाध्याय, राजेश कुमार सिंह, महिला विभाग प्रमुख सरिता रोकाया, र समाजसेवी तथा सामाजिक अभियन्ता हिमाल सिंह बोहरा लगायतको टिमले एयरपोर्ट पुगेर नेपाल पठाएको हो ।
समाजका अध्यक्ष राजेश कुमार रावलले आफुहरुले महिलाको उद्धार गरेर गणेश भट्टलाई पनि सम्पर्क गरेको बताउनु भएको छ । महिलाले भने अनुसार दुवैजना 3 महिना साथै रहेको भट्टले स्वीकार गरेपनि पैसा लिएर गएको भन्ने आरोपको खण्डन गरेको रावलले बताउनुभयो।









































