काठमाडौं, 31 मार्च 2023
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो नेतृत्वको सरकारले तीन महिनामा महत्वपूर्ण काम सम्पादन गरेर जनतामा आशा जगाउन सफल भएको बताएका छन्।शुक्रबार दिउँसो माओवादी केन्द्रको केन्द्रीय कार्यालय पेरिसडाँडामा अखिल नेपाल महिला संघ (क्रान्तिकारी) को केन्द्रीय समितिको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन्। प्रधानमन्त्री प्रचण्डले थिति बसाल्न तीन महिनामा महत्वपूर्ण काम भएको बताए।
प्रधानमन्त्रीले भने, “बेथितिहरू अन्त्य गर्न र थिति बसाल्न यस अवधिमा महत्वपूर्ण काम भएका छन् । मन्त्रिपरिषद्को बैठकले निजी क्षेत्रको समस्या समाधानका लागि मौद्रिक नीतिमा सहजीकरण गरिएको छ।”
राजस्व सङ्कलनमा सुधार आएको, विदेशी मुद्रा सञ्चिति बढेको र विप्रेषणमा सुधार आएको उल्लेख गर्दै उहाँले सेवा प्रवाह गर्ने कार्यालयका लामा–लामा लाइन हटेको बताउनुभयो । राहदानी, सवारी चालक अनुमतिपत्रलगायतका काममा विगतको झन्झट हटेको जानकारी दिँदै प्रधानमन्त्रीले यसलाई ठीक ढङ्गले बुझेर जनतामा लैजानुपर्ने बताए ।
“सुशासन र समृद्धिका लागि महत्वपूर्ण काम भएका छन् । कानुन निर्माणका कामले गति लिएका छन्”, प्रधानमन्त्रीले भने, “एउटा समीकरणबाट सरकार गठन भयो, तर राष्ट्रिय सहमति खोज्दै जाँदा सहमति भएन, त्यसपछि अर्को गठबन्धनमा जानुपर्ने परिस्थिति आयो । त्यसले गर्दा कतिपय भएका काम पनि ओझेल परेकोजस्तो छ । आज सरकार विस्तार भएपछि सरकारले गति लिन्छ ।”
नेपालको क्रान्तिकारी आन्दोलनमा महिलाले प्रदर्शन गरेको वीरता र बलिदानबाट नेपालमा युगान्तकारी परिवर्तन आएको स्पष्ट पार्दै प्रधानमन्त्रीले सङ्घीय लोकतान्त्रिक गणतन्त्रको स्थापना भएको र संविधानले महिला अधिकारलाई उचाइका साथ प्रबन्ध गरेको बताए।









































