काठमाण्डौँ, 16 अप्रेल
गत चैत 4 गते बेल्जियमबाट कतारको दोहा हुँदै आएकी बाग्लुङकी 64 वर्षीया महिलाको तेस्रो परीक्षण गर्दा कोरोना नेगेटिभ देखिएको छ। धौलागिरी अञ्चल अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. शैलेन्द्र पोखरेलका अनुसार आज महिलाको तेस्रो परीक्षणको नतिजा नेगेटिभ आएको हो। अस्पतालमा उपचार भइरहेका कोरोना संक्रमितमध्ये पुनः परीक्षण गरिएकाहरूको नेगेटिभ आएको यो पहिलो घटना हो। यसअघि गरिएको दोस्रो परीक्षणमा यी महिलाको नतिजा पोजेटिभ आएको थियो। डा. पोखरेलका अनुसार आजै महिलाको अर्को परीक्षणको लागि स्वाब पठाउने तयारी भइरहेको छ। ‘संक्रमितको नतिजा नेगेटिभ आए फेरि 24 घण्टा भित्र अर्को नतिजा नेगेटिभ आउनुपर्छ। अनि मात्र विरामीलाई डिस्चार्ज गर्न सकिन्छ,’ उहाँले भन्ननुभयो।
अर्को नतिजा पनि नेगेटिभ आए महिलालाई डिस्चार्ज गर्ने अस्पतालको तयारी छ। महिलासँगै अस्पतालमा रहेकी 19 वर्षीय अर्की युवतीको भने चौथो परीक्षणको नतिजा पनि पोजेटिभ देखिएको छ। उनीहरू दुबैजना बेल्जियमबाट सँगै आएका थिए। उनीहरू दुबै नातेदार पनि हुन्। युवतीमा पहिले कोरोना संक्रमण देखिएपछि उनीसँगै आएकी महिलामा पनि पछि संक्रमण देखिएको हो।









































