नयाँ दिल्ली डेस्क, 20 मई 2020
जारी लकडाउनका कारण भारतको हिमाचल प्रदेशको कुल्लु मनालीमा फसेका करिब 124 नेपालीहरूलाई नेपाल फिर्ता पठाइएको छ। कर्णाली प्रदेशका सभामुख राजबहादुर शाहीले जिम्मा लिएपछि हिमाचलको कुल्लु मनालीमा फसेका कर्णाली प्रदेशका 92 जना नेपालीहरुलाई मंगलबार र 32 जना नेपालीहरुलाई आज पठाइएको मूल प्रवाह अखिल भारत नेपाली एकता समाज कुल्लु मनालीका अध्यक्ष साईला लामाले बताउनुभयो। हिमाचल सरकारले कुल्लु मनालीमा रहेका नेपालीहरुलाई सक्दो सहयोग गरिरहेको भएपनि त्यहाँ रहेका नेपालीहरूले घरनै जाने बताएपछि कर्णाली प्रदेशका सभामुख राजबहादुर शाहीसँग कुरा गरेर मूल प्रवाह अखिल भारत नेपाली एकता समाजले उनिहरुको नेपाल फिर्ता हुने व्यवस्था मिलाएको हो।

जानकारीका अनुसार उनिहरुलाई मङ्गतबार साँझ 4 बजे मनालीबाट नेपाल पठाइने तयारी भएपनि नेपाल जानेको संख्या बढेपछि अबेर राति मात्रै नेपाल पठाइएको थियो। पहिला नेपाल पठाउनका लागि 30 जनाको यात्रा पास लिइएको भए पनि पछि नेपाल फर्किन चाहनेको संख्या बढेपछि थप नेपालीहरुका पास लिएर 92 जनालाई 2 बस गरेर नेपालका लागि पठाइएको लामाले बताउनु भयो। त्यस्तै 32 जना नेपालीहरुलाई आज दिँउसो नेपालका लागि पठाइएको हो।
उनिहरु सबैलाई बसले रुपैडिहा नाकामा छोड्ने छ भने त्यहाँबाट कर्णाली प्रदेशका सभामुख राजबहादुर शाहीले नेपाल प्रवेश गराउनु हुनेछ। नेपाल पठाइएका अधिकाँश मदजूरहरु कर्णाली प्रदेशको सुर्खेत र दैलेख लगायतका जिल्लाका रहेका छन्।

नेपाल फर्किन चाहने नेपालीहरुको संख्या धेरै भएकाले उनिहरुलाई पनि नेपालको स्थानिय सरकारसँग समन्वय गरि पठाउने तयारीहरु चलिहरेको लामाले बताउनुभयो।
नेपाल सरकारले भारतमा अलपत्र परेका नेपालीहरुका बारे कुनै निर्णय गर्न नसके पनि स्थानिय सरकारको प्रयासमा भने उनिहरु स्वदेश भित्रिरहेका छन। तर नेपालमा स्थानिय सरकारसँग समन्वय बिना सीमासम्म पुगेका सयौं नेपालीहरु भने त्यही अलपत्र परेका छन्।









































