नयाँ दिल्ली डेस्क, 5 मे 2020
अखिल भारत नेपाली एकता मञ्चले स्वदेश फर्कन चाहने नागरिकहरूलाई यथाशीघ्र नेपाल फर्काउन माग गरेको छ। मञ्चले एक प्रेस विज्ञप्ति जारी गर्दै लकडाउनको कारण समस्यामा परेका र नेपाल फर्किन चाहने नागरिकहरूलाई स्वदेश फर्काउन माग गरेको हो।
लकडाउनका कारण भारतको विभिन्न स्थानमा होटल, रेष्टुरेन्ट, कलकारखाना, उद्योग व्यवसाय लगायत असंगठित क्षेत्रमा काम गर्ने नेपालीहरूको रोजगारी गुमेको छ। यसका साथै उनिहरूलाई दैनिक छाक टार्न र बस्ने बासको समेत समस्या भएको छ। मञ्चले भारतमा काम गर्ने लाखौँ मजदुरहरूलाई स्वास्थ्य परीक्षण र क्वारेन्टिनमा राख्ने सर्त सहित नेपाल भित्र्याउनुको साटो नेपाल सरकारले आवागमन निषेध गर्नु आपत्तिजनक भएको बताएको छ।
भारतको दिल्ली, महाराष्ट्र, दक्षिण भारत, पञ्जाब लगायातका राज्यहरूमा लकडाउनका कारण फसेका नेपाली मजदुरहरू, विद्यार्थी, पर्यटक, उपचारको लागि आएका बिरामीहरू, तीर्थयात्रामा आएका तीर्थालुहरू, आफन्त भेट्न आएका मानिसहरू नेपाल-भारत सीमा बन्द भएपछि अहिले अलपत्र परेका छन्। “नेपाल सरकारले कुटनीतिक रूपमा पहल गरी भारतमा फसेका नेपालीहरूको खानापिना र बस्ने बास उचित व्यवस्थापन गरेर नेपालका गाँउपालिका र दिल्ली दूतावासद्वारा उनिहरूको सत्य तथ्य तथ्याङ्क निकाली आवश्यक स्वास्थ्य परीक्षण गरी फिर्ता गर्नु पर्दछ”, विज्ञप्तिमा भनिएको छ। आफ्ना नागरिकहरूको रक्षा गर्नु राज्यको कर्तब्य भएको बताउँदै उनिहरूलाई चाँडोभन्दा चाँडो स्वदेश फर्काउन मञ्चले जोडदार रूपमा माग गरेको छ।
अखिल भारत नेपाली एकता मञ्चले भारतमा लकडाउनका कारण समस्यामा परेका नेपालीहरूलाई उनिहरू रहेकै स्थानमा राहत वितरण गर्दै आएको छ।









































