नयाँ दिल्ली डेस्क, 19 मई 2020
भारतमा समस्यामा परेका नेपालीहरु स्थानिय सरकारको प्रयासमा धमाधम घर फर्किरहेका छन्। भारतमा रहेका विभिन्न राजनीतिक दलका जनवर्गीय संगठनको पहलमा स्थानिय सरकारलाई दवाब सृजना हुँदा अहिले भारतका विभिन्न राज्यमा रहेका नेपालीहरु नेपाल फर्किन पाएका हुन्।
नेपाली जनसम्पर्क समितिको पहलमा हिमाचल प्रदेशको सिमरा पावंटा साहिबमा अलपत्र 31 जना नेपालीहरूलाई नेपाल पठाईएको छ। नेजस भारतका केन्द्रीय अध्यक्ष तथा नेपाली काँग्रेसका आमान्त्रित केन्द्रीय सदस्य बालकृष्ण पाण्डे, नेजस दक्षिण भारत क्षेत्रका महासचिव बिमलराज बिष्ट र नेजस बेलेन्धुर शाखा अध्यक्ष दिवश शाहीको विशेष पहलमा कैलाली जिल्ला घोडाघोडी नगरपालिका वडा नम्बर 2 का उनिहरूलाई वडा अध्यक्ष हरिराज बिष्टले जिम्मा लिने गरी हिमाचलबाट नेपालका लागि पठाइएको हो।
भारत सरकारबाट पास र गाडीको व्यवस्थामा उनिहरूलाई नेपाल पठाइएको हो। नेशनल लाईभसँग कुरा गर्दै नेजस बेलेन्धुर शाखा अध्यक्ष दिवश शाहीले उनिहरू मध्ये घोडाघोडी नगरपालिका वडा नम्बर 2 का वडा अध्यक्ष हरिराज बिष्टले रिसिभ गर्ने भनेपछि 11 जनालाई 3 दिन अघि र 20 जनालाई हिजो हिमाचल प्रदेशको सिमराबाट पठाइएको हो। कूल 31 जनानै बनबसा नाका पुगेपछि उनिहरुलाई वडा अध्यक्ष बिष्टले रिशिभ गरेर स्वास्थ्य जाँच र निश्चित समय क्वारेन्टिनपछि उनिहरूलाई घर पठाइने बताउनुभयो।
भारतमा चौथो चरणको लकडाउनसम्म आइपुग्दा यहाँ अलपत्र नेपाली मजदूरहरूको जनजीवन दयनीय बनेको छ। कोरोना प्रकोप रोकथाम तथा नियन्त्रणको लागि जारी गरिएको लकडाउनका कारण भारतमा हजारौँको संख्यामा नेपालीहरू अलपत्र छन्। रोजगार खोसिएसँगै उनिहरू आधारभूत आवश्यकता (खाना र बस्न) बाट पनि बञ्चित हुन थालेका छन्। पहिलो, दोस्रो र तेस्रो चरणको लकडाउनको अवधि जसोतसो कटाएका उनिहरू माझ अब भने एउटा मात्र विकल्प देखा परेको छ। त्यो हो स्वदेश फर्किने। तर नेपाल सरकारले सीमानाका नखोल्दा उनिहरू झन समस्यामा परेका छन्। अहिले स्थानीय सरकारको प्रयासमा भारतमा अलपत्र परेका नेपाली मजदूरहरूलाई स्वदेश फर्काउने काम भने भइरहेको छ।









































