नयाँ दिल्ली, 1 मे 2020
भारतमा रहेका नेपालीहरुले वर्तमान परिस्थितिमा नेपाल फर्किने प्रयास गरे झनै समस्यामा पर्ने देखिएको छ । पछिल्लो समय नेपाल भारतको सीमामा क्वारेन्टाइनमा बसेका नेपालीहरुलाई स्थानिय प्रशासनको समन्वयमा नेपाल प्रवेश गराइएपछि अहिले भारतका विभिन्न राज्यहरुमा रहेका नेपालीहरु पनि नेपाल जाने प्रयास गरिरहेका छन । जारी लकडाउनका बिच भारत सरकारले भारतकै अन्य राज्यका मजदूर वर्गलाई आफ्नो गृह राज्यमा फर्किनका लागि विशेष पासको व्यवस्था गरिरहेका बेला नेपालीहरु पनि पास लिन पुगिरहेको भन्ने जानकारी आएको छ ।
सो पास लिएर प्रवासी नेपाली मजदूरहरुले नेपाल-भारतको सीमा जोडिने राज्यसम्म पुग्ने प्रयास गरिरहेका छन । तर नेपाल सरकारले नेपाल भारत सीमा बन्द गरेको अवस्थामा उनिहरु सीमासम्म पुग्न सकेपनि त्यहाँ झन ठूलो समस्यामा पर्ने देखिएको छ ।
प्रशासनसँग समन्वय नहुँदा उनिहरुलाई सीमा क्षेत्रमा खाने बस्ने समस्या हुन सक्ने र केही गरि सीमामा क्वारेन्टाइनमा राख्ने व्यवस्था भए भने विद्यालय, धर्मशाला लगायतका अव्यवस्थित गैर आवासीय क्षेत्रमा रहने बाध्यता उत्पन्न हुने देखिएको छ।
उनिहरु अहिले आवासीय क्षेत्रमा सुरक्षित रहेकाले उनिहरुले लहलहैमा लागेर यात्रामा निस्कने प्रयास गर्नु ज्यानकै जोखिम हुने निश्चित देखिएको छ ।
केही गैर जिम्मेवार बस संचालकहरुले समेत नेपाल जानका लागि सम्पर्क गर्न भन्दै सामाजिक सञ्जालमा प्रचार गरेपछि भारतका विभिन्न राज्यमा रहेका नेपालीहरु झनै नेपाल जाने प्रयासमा लागेका छन ।
दिल्लीस्थित नेपाली राजदूतावासले यसअघिनै नेपाल-भारतमा जारी लकडाउन र नेपाल सरकारले समेत नेपाल-भारत सीमामा रोक लगाएको अवस्थामा आफु रहेकै स्थानमा सुरक्षित रहन भनिसकेको छ ।









































