काठमाण्डौँ, 13 मई 2020
सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सांसद रामनारायण विडारीले मन्त्री, सांसद र नेताले कोरोना सारेको आरोप लगाउनुभएको छ। सांसद विडारीले राहत बाँड्ने नाममा गाउँ- गाउँमा मान्छे जम्मा गरेर मन्त्री सांसद र नेताहरुले कोरोना संक्रमण फैलाएको आरोप लगाउनुभएको हो। राहतका कार्यक्रम स्थानीय तहबाट व्यवस्थित रुपमा वितरण हुनुपर्ने भएपनि कसैले नपाए जस्तो गरी नेताहरु गएर कोरोना संक्रमण फैलाएको अरोप उहाँले लगाउनुभयो। राष्ट्रियसभा बैठकको विशेष समयमा बोल्दै विडारीले भन्नुभयो, ‘‘नेता हुँ भनेर राहत बाँडन ट्रयाक सुट टाई लाएर गाउँगाउँमा गएर मान्छे जम्मा पारेर कोरोना कोरोना संक्रमित गराउने काम सांसदले गरे, नेताले गरे, मन्त्रीले गरे। मन्त्री, सांसद र नेताहरुले कसैले नपाएको जस्तो गरी राहत बाँडे अरे। राहत भूकम्पको बेलामा बाँडने हो। राहत बाढी पिडित भएको बेलामा बाँडने हो। अहिलेको राहत लोकल सरकारले बाँडने अरुले बाँडने होइन्। लोकल सरकारको पनि वडा अध्यक्षले बाँडने हो। वडा अध्यक्षले पनि होइन वडा सदस्यले बाँडने हो।’’
राहत वितरणको आधार के हुने? कुन व्यक्तिलाई राहत दिने ? भन्ने कुरा कानून बनाएर लागु गर्ने भएपनि त्यसो हुन नसकेको उहाँले बताउनुभयो। अहिलेको अवस्थामा स्थानीय तहमा उत्पादन भएका तरकारी, दुध र अण्डा सरकारले किनेर जनताको घरमा पुऱ्याउनुको सट्टा गफ गरेर नहुने उहाँले बताउनुभयो। त्यसका लागि कानून निर्माण आवश्यक रहेको उहाँले बताउनुभयो।
भारतले नेपाली भूमि अतिक्रण गरेको विषयमा सांसद विडारीले नरेन्द्र मोदी सत्तामा आएदेखि नेपाललाई हैरान गरेको बताउनुभयो। संविधान निर्माणमा बाधा, नाकाबन्दी र सीमानामा मनलाग्दी काम गरेर नेपाललाई मोदी सरकारले हैरान पारेको उहाँले बताउनुभयो।
उहाँले भन्नुभयो, ‘‘मोदी सरकार जहिले आयो त्यो बेलादेखि नेपाललाई हैरान पारेको पाऱ्यै गऱ्यो। यो कस्तो रैछ अर्काको देशमा आएको सरकारले हाम्रो देशलाई हैरान पार्ने। यो गजबको भयो। कहिले संविधान जारी गर्न पाइदैन भनेर उफ्रिन्छन कहिले भूकम्पले थला परेको नेपाललाई नाकाबन्दिको हैरानी बनाएर थप तहस नहस पार्न खोज्छन, कहिले कोरोना ग्रस्त भएको बेलामा सीमामा मनलाग्दी काम गरेको हल्ला खल्ला प्रचार गर्दै काम गर्छन।’’









































