काठमाण्डौ, 23 जनवरी 2021
ठूला-ठूला सपना बोकेर वर्षेनी लाखौंको संख्यामा वैदेशिक रोजगारीका लागि जाने कतिपय नेपालीहरु धन कमाएर फर्किन्छन भने कतिपय युवाहरु विदेशमै ज्यान गुमाउने गरेका छन । यस्तै रोजगारीको क्रममा मलेसियामा ज्यान गुमाएका 18 नेपालीको शव आज स्वदेश ल्याइएको छ ।
मलेसियामा विभिन्न कारणले ज्यान गुमाएका 37 नेपालीहरुको शव अझै त्यही रहेको छ । आज नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को वाइड बडी ए 330 जहाजले विभिन्न कारणले मलेसियामा ज्यान गुमाएका नेपालीहरुकोको शव ल्याएको हो ।
शव बुझ्न आफन्तहरु विमानस्थलनै पुगेका थिए । शव बुझ्दै गर्दा आफन्तले मन थाम्न नसकेर भक्कानिएका थिए ।
एक नेपालीको अस्तु र अन्य 18 वटा शव नेपाल ल्याइएको निगमले जनाएको छ । संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत निगमले नेपालीको शव ल्याएको बताएको छ ।
मलेसियास्थित नेपाली दूतावासँगको समन्वयमा निगमले नेपालीको शव ल्याएको हो । नेपाली दूतावासलाई उद्धृत गर्दै निगमले जनाएअनुसार अझै त्यहाँ ३७ वटा शव रहेका छन् । ती शव समयभित्रै नेपाल ल्याउन निगमले आवश्यक तयारी भइरहेको जनाएको छ।









































