सिक्किम, 4 जनवरी/केएन शर्मा
उत्तराखण्डका पर्यटन, सिचाई एवं संस्कृतिमन्त्री सतपाल महाराज र सिक्किमका मुख्यमन्त्री पीएस गोलेबिच भेटवार्ता भएको छ । जोरथाङस्थित पावर गेष्ट हाउसमा भएको भेटमा मन्त्री सतपालजी महाराजले सिक्किमका पर्यटकीय स्थलको प्रशंसा गर्नुभएको थियो । उहाँले राज्यमा सरकार गठन गरेकोमा मुख्यमन्त्रीलाई बधाई दिनु भएको थियो । अन्तरक्रियाका क्रममा सिक्किमका मुख्यमन्त्री गोलेले सिक्किम आउनुभएकोमा सतपाल महाराजप्रती आभार प्रकट गर्दै उहाँको आगमन सिक्किमे जनताका लागि महत्त्वपूर्ण अवसर भएको बताउनुभयो ।
भेटका क्रममा मुख्यमन्त्रीले पाक्योङमा 2016 बाट निर्माण शुरु भएको मानव उत्थान सेवा समितिको निर्माण कार्य पूरा गर्ने आश्वासन दिनुभयो । मुख्यमन्त्रीले समितिलाई आर्थिक सहयोग गरि तीन वर्षभित्रमा निर्माण कार्य पूरा हुने बताउनुभयो। मुख्यमन्त्री गोलेले केन्द्रको निर्माण कार्य छिट्टै शुरु गर्न समितिलाई निर्देशन समेत दिनुभयो। निर्माण पूरा भएपछि देशभरबाट श्रद्धालुहरु केन्द्रमा आउने बताउनुभयो । उत्तराखण्डका मन्त्री सतपाल महाराजले पाक्योङलाई धार्मिक पर्यटकीयस्थलको रुपमा विकास गर्ने योजना बनाएकोमा मुख्यमन्त्री गोलेप्रति आभार प्रकट गर्नुभयो । पाक्योङमा विमानस्थलसँगै अन्य पूर्वाधार निर्माण हुँदा स्थानीयहरुको जीवनस्तर सुधार हुने विश्वास व्यक्त गर्नुभयो ।
भेटवार्ताका क्रममा उर्जा विभागका मन्त्री एमएन शेर्पा, विधायिका सुनिता गजमेर, मुख्यमन्त्रीका सचिव एसडी ढकाल, नाम्चीका एसडीएम विषु लामा, जोरथाङका एसडीएम आरबी भण्डारी र राज्य सरकारका अन्य अधिकारीहरु पनि उपस्थित रहेका थिए ।