मुम्बईमा रवि लामिछानेको स्वागतमा भेटघाट तथा अन्तरक्रिया कार्यक्रमको आयोजना
दिल्ली, 6 जुन 2023
भारतको मुम्बई भ्रमणमा रहेका राष्ट्रीय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र उनकी श्रीमति निकिता पौडेललाई स्वागत तथा सम्मान गर्दै प्रवास नेपाली सम्पर्क विभाग भारत महाराष्ट्र राज्य समितिले भेटघाट तथा अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको छ। नेशनल लाईभ टिभीलाई प्रवास नेपाली सम्पर्क विभाग भारत, महाराष्ट्र राज्य सभापति राज रोकायाले दिएको जानकारी अनुसार महाराष्ट्र राज्य समितिले आफ्नो निजी कामको लागी मुम्बई आएका रवि लामिछानेका लागि 3 जून शनिवारका दिन गोरेगांव वेस्ट स्थित हार्मोनि हलमा मुम्बईमा बस्ने नेपालीहरुसँग भेटघाट, सम्बोधन तथा अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको थियो। कार्यक्रमको संचालन संयुक्त नेपाली महासंघ संस्थाका पदाधिकारीले गरेका थिए। कार्यक्रममा प्रवास नेपाली सम्पर्क विभाग भारतको तर्फबाट केन्द्रीय उपसभापति कविन्द्र जैशी, महाराष्ट्र राज्य सभापति राज रोकया, महाराष्ट्र राज्य उपसभापति प्रकाश साउद, महाराष्ट्र राज्य महा मंत्री बिस्नु थापा, सह महा मंत्री जगत रिमाल, सह कोषाध्यक्ष जनक भाट र सदस्य प्रकाश देवकोटाको उपस्थिति रहेको थियो। कार्यक्रमलाई सफल बनाउनको लागि प्रवास नेपाली सम्पर्क विभाग भारत, महाराष्ट्र राज्य समितिलाई संयुक्त नेपाली महासंघले पनि सहयोग गरेको थियो। कार्यक्रममा प्रवास नेपाली सम्पर्क विभाग भारत र महाराष्ट्र राज्य समितिका पदाधिकारी र सदस्यहरुका साथै विभिन्न गैर राजनीतिक र सामाजिक संघ संस्थाहरुको पनि उपस्थिति रहेको थियो। रवि लामिछानेले आफुलाई स्वागत गर्दै धैरे सम्मान दिनका लागि कार्यक्रमका आयोजकहरु र उपस्थित सबैलाई धन्यवाद पनि व्यक्त गरेका थिए।









































