काठमाडौं, 15 सितम्बर 2021
राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष डा. पुष्पराज कँडेलले मुलुक बजेटबिहीन हुनुमा सरकार स्वयं जिम्मेवार रहेको बताउनुभएको छ । विभिन्न राजनीतिक खिचातानी लगायत कारणले मुलुकले बजेट शुन्यताको स्थिती सामना गर्न नपरोस् भनेर संविधानमा नै जेठ १५ गते बजेट संसदमा पेस गर्नुपर्ने प्रावधान राखिएको स्मरण गर्दे उहाँले अहिले मुलुक बजेट शुन्यताको अवस्थामा पुग्नुको मुख्य कारक वर्तमान सरकार भएको बताउनुभएको हो । बुधबार बिहान न्यूज एजेन्सी नेपालका संवाददातासंग संक्षिप्त कुराकानी गर्दै राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष कँडेलले प्रतिपक्षले सदन बन्द गरायो भन्ने आडमा टेकेर प्रतिपक्षलाई आरोप थुपार्दै बजेट खर्च गर्न पाइएन भन्ने छुट वर्तमान सरकारलाई नरहेको बताउनुभयो । नेकपा एमालेका नेता समेत रहनुभएका उहाँले सरकारले आफूलाई चाहिएको डकुमेण्ट बलजफ्ती पास गरिरहेको दाबी पनि गर्नुभयो । उहाँले बजेट अधिवेशन पार्टीलाई फुटाउनका लागि बन्द गरेर अर्को अध्यादेश ल्याउनुबाट सरकारको नियत भएको स्पष्ट भएको टिप्पणी गर्नुभयो ।
पूर्व उपाध्यक्ष कँडेलले भन्नुभयो, ‘हामीकहाँ जेठ १५ मा बजेट ल्याउने छ, यस्तै किसिमको समस्या नपरोस् भनेर त्यतिबेला ल्याएको हो, त्यतिबेला अध्यादेशका रुपमा आयो, त्यसले काम गर्न नपाउँदै अधिवेशन बन्द गरियो, त्यो अधिवेशनको नामै बजेट अधिवेशन हुन्छ, अर्को पार्टी फोर्नलाई भनेर त्यसलाई आज बन्द गरेर भोलिपल्ट बिहान फेरि अध्यादेश ल्याएर अहिलेको स्थिती आएको छ,अब अहिले सदन बन्ध भयो त्यसकारणले गर्दा बजेट खर्च गर्न पाइएन भनेर प्रतिपक्षमाथि आरोप लगाउन खोजेको जस्तो देखिन्छ, अहिलेको हिसाव हेर्दा, फेरि ४ गते भनेर सारिएको छ, तर त्यो चिज मुलतः सरकारकै जिम्मेवारी भित्रको कुरा हो, आफूलाई चाहिएको कतिपय डकुमेण्ट त पास पनि गरिसकेको छ, यही बीचमा पनि पास गरिसकेको छ,बलजफ्ती पनि पास गरिसकेको छ, गर्न चाहेको भए सम्भव त यो पनि हुन्थ्यो, बलजफ्ती नै गर्ने हो भने यो पनि गर्दा हुनेभयो, यो किन नगरेको ? कुनै पास गरेको छ, कुनै छैन र सबैभन्दा मुल कुरो बजेट अधिवेशन कुनै अर्को एउटा पार्टी फोर्नलाई भनेर बन्द गरेर अर्को अध्यादेश ल्याएर गर्न मिल्दैन, त्इहाँ पनि गलत नियत छ र गलत नियतको कारणले गर्दा गलत कामको परिणाम त जहिल्यै पनि गलत नै हुन्छ नि,अन्तिममा गएर त्यसले समस्या सिर्जना गर्छ, अहिलेको अवस्था त्यही हो ।’
पूर्व उपाध्यक्ष कँडेलले सरकारको न्यूनतम साझा कार्यक्रम र प्रतिस्थापन विधेयक गन्तव्यहीन भएको पनि टिप्पणी गर्नुभयो । उहाँले प्रतिस्थापन विधेयक कुन परिवेशमा आधारित भएर ल्याईएको भन्ने नै स्पष्ट नभएको तर्क गर्नुभयो । उहाँले पुर्ववर्ती सरकारले १५ औँ आवाधिक योजनामा आधारित भएर र दलको घोषणा पत्रमा उल्लेख भएको न्यूनतम साझा कार्यक्रममा आधारित भई बजेट ल्याएको तर प्रतिस्थापन विधेयक भने आधारहिन देखिएको बताउनुभयो ।
उहाँले भन्नुभयो “जसरी हिजो न्यूनतम साझा कार्यक्रम ल्याएँदा त्यसको गन्तव्य प्रस्ट भएको जस्तो देख्दिन खालि एउटा सम्झौताको हिसावले, अवसरको हिसावले नीति ल्याउनुपरेको स्थिती जस्तो देखिन्थ्यो, अहिले यो प्रतिस्थापन विधेयकलाई हेर्दा पनि मैले त्यस्तै पाएको छु, यो कुन वेशमा आधारित भएर गरेको भन्ने आधार पनि छैन, साँच्चै भन्ने हो भने प्रतिस्थापन विधेयक, यो भन्दा अघिको बजेटले त भनेकै पनि थियो, १५ औं आवदिक योजनामा आधारित भएर अघिल्लो बजेट ल्याइएको थियो, यसले त्यो कुरो पनि भन्दैन, न्यूनतम साझा कार्यक्रमले पनि भन्दैन, कहाँ टेकेर यो चिज भइरहेको छ भन्ने कुरै यसमा स्पष्ट छैन, सरकार हरेक चिजमा जिम्मेवार हुनुपर्छ, अरुलाई मैले जे जे भनेको छु, त्यही त्यही मान्ने भन्यो भने अरुले पनि आ आफ्नो ठाउँबाट बिरोध जनाउँछन् र अन्ततोगत्वा समस्या सरकारलाई पर्छ, देशलाई पर्छ, जनतालाई पर्छ भन्ने कुरो बुझ्नुपर्ने हुन्छ ।’
पूर्व उपाध्यक्ष कँडेलले प्रतिपक्षले रचनात्मक हिसावले सहयोग गरिरहेको भन्दै मुल निर्णयकर्तामाथि प्रतिस्थापन विधेयकबारे पश्न उठेकोले मुल निर्णयकर्ताले नै समस्याको समाधान गर्नुपर्ने बताउनुभयो । उहाँले प्रतिपक्षको समस्या समाधान नगरी सरकारले आफ्नो इच्छानुसार काम गरिरहेका बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘प्रतिपक्षले रचनात्मक हिसावले सहयोग गरिरहेको छ, गर्छ पनि समस्या मुल निर्णयकर्तामाथि प्रश्न उठिसकेपछि उहाँले नै त्यसलाई समस्या समाधान गर्नुपर्यो नि, कुरा गर्नुपर्यो के हो चित्त नबुझेको प्रतिपक्षको विषय, त्यो कुरो सल्टाइदिनुपर्यो, त्यो सल्टाइदियो भने केही समस्या छैन नि,सबै आफूले भनेको अनुसार होस् अनि मैले जे जे भनेको छु त्यही त्यही कुरा मानिदेओस् भन्ने हुन सक्दैन, लोकतन्त्रमा विद्रोह गर्ने अधिकार सबैलाई छ, सरकार पक्षलाई नहोला अरुलाई त छ नि ।’
सरकारले ल्याएको बजेट अध्यादेश प्रतिस्थापन विधेयक संघीय संसदबाट पारित नभएकाले मुलुक अहिले बजेटबिहीनताको अवस्थामा पुगेको हो । तर अर्थमन्त्री जनार्दन शर्माले भने केही दिन बजेटको शंकट परेपनि केही फरक नपर्ने बताउदै आउनुभएको छ । मुलुक बजेटबिहिन हुँदा अस्पताल, जेलर लगायत सरकारी कार्यालयमा हुने दैनिक खर्च ठप्प हुनेछ । पूर्ववर्ती सरकारले संविधानअनुसार जेठ १५ गते नै बजेट अध्यादेश ल्याएको थियो । राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष कँडेलले अर्थमन्त्री शर्माले प्रतिस्थापन विधेयकमा कोरोनाबाट क्षति पुगेका ५ लाख परिवारलाई १० हजारको दरले बाँड्ने भन्नुभएको ५ अर्ब रुपैयाँको पनि दुरुपयोग हुने बताउनुभयो ।









































