11 अक्टूबर 2021
आइतबार रूपन्देहीको बुटवल उपमहानगरपालिका–१७ र १८ स्थित मोतिपुर औद्योगिक क्षेत्रमा जग्गा कब्जा गर्ने समूह र प्रहरीबीच झडप हुँदा चार जनाको मृत्यु भएको छ । झडपमा प्रदर्शनकारी, प्रहरी र सशस्त्र प्रहरी गरी झन्डै ५० जना घाइते भएका हुन। युनिभर्सल कलेज अफ मेडिकल साइनसेज (यूसीएमएस) भैरहवामा उपचारका लागि गएका आठ जना अतिक्रमणकारी र पाँच प्रहरीमध्ये चार जना अतिक्रमणकारीको मृत्यु भएको छ भने केहीको अवस्था गम्भीर छ । अन्य तीनको भने अस्पताल लैजाँदै गर्दा बाटोमा मृत्यु भएको थियो । यूसीएमएसका जनसम्पर्क अधिकृत सुशील गुरुङका अनुसार, मृत्यु भएका तीनमध्ये कपिलवस्तुको वाणगंगा नगरपालिका–४ का ४८ वर्षीय रमेश परियारको सनाखत भएको छ । अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । सो अन्य पाँच प्रहरी र चार सर्वसाधारणको अस्पतालमा उपचार भइरहेको छ । रूपन्देहीका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीका अनुसार, घटनामा चार जनाको मृत्यु भएको छ । सर्वसाधारणतर्फ १६, नेपाल प्रहरीतर्फ १६ जना, सशस्त्र प्रहरीतर्फ १५ जना घाइते भएका छन् । घाइते हुनेमा सशस्त्र प्रहरी उपरीक्षक (एसपी) राजेश उप्रेती पनि छन् । प्रमुख जिल्ला अधिकारी तिवारीले सार्वजनिक जग्गा छाड्न प्रशासनले पटकपटक ताकेता गरे पनि बेवास्ता गरेपछि प्रशासन संयमतापूर्वक अघि बढेको तर प्रदर्शनकारी जाइलागेपछि जवाफी आक्रमण गरेको बताए । उनले प्रदर्शनकारीले पेट्रोल बम प्रहार ढुंगामुढासँगै गरेपछि बाध्य भएर गोली चलाउनुपरेको बताए ।









































