काठमाडौं, 9 मार्च 2023
नयाँ राष्ट्रपतिको निर्वाचनका लागि बिहीबार भएको मतदानको मतगणना सुरु भएको छ । मतगणना नयाँ बानेश्वरस्थित संसद् भवनको ल्होत्से कक्षमा सुरु भएको हो । आज बिहान १० देखि सुरु भएको मतदान दिउँसो ३ बजेसम्म सकिएको थियो । मतगणनापछि बिहीबार नै राष्ट्रपति निर्वाचनको प्रमाणपत्र प्रदान गरिने तयारी रहेको निर्वाचन आयोगले जनाएको छ । मतदानमा ३१३ सङ्घीय सांसद र ५१८ गरी ८३१ जनाले मतदान गरे । संघीय संसदका ३३४ जनामध्ये ३१३ जनाले मतदान गरेका छन् । प्रदेशसभाका ५५० जनामध्ये ५१८ जनाले मतदान गरेका छन् । तेस्रो राष्ट्रपतिका लागि नेपाली कांग्रेसका रामचन्द्र पौडेल र नेकपा (एमाले)का सुवासचन्द्र नेम्वाङ प्रतिस्पर्धामा छन् ।









































