काठमाण्डौँ, 21 अप्रेल
लकडाउनका कारण देशका अधिकांश आयोजनाका निर्माण कार्य ठप्प भएपनि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग निर्माणको काम भने रोकिएको छैन। कोरोना संक्रमणको जोखिम बढेपछि सरकारले जारी गरेको लकडाउनमा सामाजिक दुरी कायम गर्दै निर्माणको काम भइरहेको हो। 3 हजार 50 मिटर रहेको विमानस्थलको धावनमार्गमा 3 सय मिटर बढाउने गरी काम भइरहेको छ। धावनमार्ग निर्माण कार्यको अनुगमन गर्दै संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले विमानस्थलको क्षमता बढाउन एवं अवतरण र उडानमा थप सुरक्षा प्रत्याभूत गर्ने विषयमा ध्यान दिइएको बताउनुभयो।
यसैगरी विमानस्थलको ‘डिपार्टिङ वे’ को काम पनि भइरहेको छ। जसका कारण आकाशमा धेरै समय होल्ड हुने खालको ट्राफिक जामको समस्या केही हदसम्म समाधान हुने मन्त्री भट्टराईले बताउनुभयो।
विमानस्थल विस्तारको काम भइरहदा प्रयाप्त सुरक्षा सतर्कता अपनाइएको समेत मन्त्री भट्टराईले बताउनुभयो। मन्त्रिपरिषद् बैठक र कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रण उच्च स्तरिय समन्वय समितिको निर्णयअनुसार नै काम सुरु भएको उहाँले बताउनुभयो। कामदारहरुलाई मास्क र सेनिटाइजर प्रयोग गर्न दिइएको छ। विमानस्थलभित्रै क्याम्प बनाएर खाने, बस्ने र स्वास्थ्य जाँचको व्यवस्था गरिएको छ। निर्माण सामग्री ढुवानी हुँदा समेत कोरोना भाइरस संक्रमणको जोखिम न्यूनिकरणमा ध्यान दिइएको मन्त्री भट्टराईले बताउनुभयो।
अहिले सम्म विमानस्थलमा नयाँ प्रस्थान हलको निर्माण सम्पन्न भइसकेको छ। 1 हजार 5 सय यात्रु क्षमताको प्रस्थान हल निर्माण भएको हो। यस्तै हवाई यातायात क्षमता अभिवृद्धि आयोजनाका प्रमुख मुरारी भण्डारीले लक डाउनका कारण काम गर्न सहज भएको बताउनुभयो। अन्य समयमा विमानस्थल बन्द गरी रातिको समयमा काम गर्नुपर्ने बाध्यता भएपनि लक डाउनका कारण सम्पूर्ण उडान बन्द भएकाले दिउँसो समेत काम गर्ने वातावरण बनेको उहाँले बताउनुभयो। निर्माण सामग्री ढुवानीमा केही समस्या भएपनि कामदारहरुको सम्पूर्ण स्वास्थ्य सुरक्षालाई मध्यनजर गरी काम भइरहेको उहाँले बताउनुभयो। प्रत्येक दिन तापक्रम (ज्वरो) नाप्ने, सेनिटाइजर र मास्क प्रयोग गरी तथा सामाजिक दुरी कायम गरी निर्माणको काम अगाडी बढेको उहाँले बताउनुभयो।
आयोजनाको काम सिभिलतर्फ 74 प्रतिशत सम्पन्न भएको छ। 2077 असार 10 गतेभित्र सम्पन्न गर्नेगरी 2075 साल पुस 18 गते निर्माण सम्झौता भएपनि सम्झौता मिति अगावै काम पुरा हुने निर्माण कम्पनीले जनाएको छ। अबको 2 हप्ताभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य लिइएको निर्माण कम्पनी कालिका टुंण्डी जेभीको सब कन्ट्रयक्टर ए वान विल्डर्स प्रालिले बताएको छ। सिभिल तर्फको बैशाखभित्रै सम्पन्न भएपनि इलेक्ट्रिक तर्फको काममा केही बिलम्ब हुन सक्ने देखिएको छ। इलेक्ट्रिक तर्फका सम्पूर्ण सामान बाहिरबाट ल्याउनु पर्ने भएकाले कोरोनाका कारण हवाई सेवा सञ्चालनमा नआए केही समय लाग्ने छ। सामान ढुवानीको अवस्था सहज भए वैशाख भित्र नै काम सम्पन्न गरी आयोजनालाई हस्तान्तरण गर्ने लक्ष्य निर्माण कम्पनीले लिएको छ। अहिले विमानस्थलमा 92 जना कामदारले काम गरिरहेका छन्।









































