काठमाण्डौँ, 24 अप्रेल
भक्तपुरको सहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले लक डाउनको समयमा पनि डायलासिसका बिरामीलाई सेवा दिइरहेको छ। लकडाउनका कारण सुरुका दिन डायलासिसको समय घटाएको भएपनि अहिले केन्द्रले नियमित सेवा दिइरहेको छ। 30 वटा डायलासिस मेसिनबाट सेवा दिइरहेको केन्द्रमा अहिले दैनिक 75 जना मृगौलाका विरामीले डायलासिस सेवा लिइरहेका छन्। दैनिक 3 सिफ्ट गरेर मृगौलाका बिरामीहरुको डाइलासिस गर्दै आएको केन्द्रले जनाएको छ। अहिले केन्द्रका चिकित्सक तथा नर्सहरुको आलोपालो गरेर सेवा दिइरहेका छन्। लकडाउनको दुई हप्ता पर्याप्त सामान मौज्दात नहुने डायलासिसको समय घटाइएको थियो। तर अहिले सबै व्यवस्थापन गरेर सबै बिरामीको तीनपटक नै डाइलासिस गर्ने गरेको केन्द्रकी नेफ्रोलोजी विभाग प्रमुख डा. कल्पना श्रेष्ठ जानकारी दिनुभयो।
केन्द्रमा डाइलासिस गराउने प्रतिक्षा सूचीमा भने एक सय 87 बिरामीहरु रहेको अस्पतालले जनाएको छ। केन्द्रमा अन्तरंग र शल्यक्रिया बाहेकका सबै सेवा लक डाउनको समयमा पनि सञ्चालनमा रहेका केन्द्रका कार्यकारी निर्देशक डा. पुकारचन्द्र श्रेष्ठले बताउनुभयो। केन्द्रमा आकस्मिक डाइलासिस गर्नुपर्ने बिरामीहरु पनि आउने गरेका छन्। दिनमा पाँचदेखि सातजनासम्म आकस्मिक डाइलासिस गर्नुपर्ने बिरामी आउने गरेको कार्यकारी निर्देशक श्रेष्ठले बताउनुभयो। केन्द्रमा मृगौला तथा कलेजो प्रत्यरोपण गरेका बिरामी तथा दाता बिरामीहरुलाई दिनुपर्ने आकस्मिक उपचारसमेत नरोकिएको उहाँले बताउनुभयो। कोरोना भाइरस संक्रमण नियन्त्रण तथा व्यवस्थापन गर्न सरकारले घोषणा गरेको लकडाउन लम्बिँदा मृगौला बिरामीहरु प्रभावित हुन थालेका छन्।









































