काठमाण्डौँ, 5 मे 2020
गृहमन्त्री रामबहादुर थापाले लकडाउन जारी रहे जनतामा तीव्र असन्तुष्टि र आर्थिक संकट बढ्ने बताउनुभएको छ। लकडाउनका कारण विश्वमा आर्थिक मन्दीसँगै सामाजिक असन्तुष्टि र राजनीतिक संकट पैदा भएकाले लकडाउन खुकुलो हुनुपर्ने गृहमन्त्री थापाले बताउनुभयो। उत्पादन र सेवाका क्षेत्रहरु निश्चित सर्तसहित खोल्न नसके कोरोना भन्दा ठूलो संकट पैदा हुने उहाँको भनाइ छ। संसदको कानून न्याय तथा मानव अधिकार समिति बैठकमा बोल्दै थापाले भन्नुभयो, ‘‘कोरोना संकटलाई तोड्न विश्वले लक डाउन, आइसोलेसन, सामाजिक दुरी कायम गर्ने रणनीति लिएको छ। तर अब उत्पादन र सेवाका क्षेत्रहरु निश्चित सर्तहरुसहित सामाजिक दुरी कायम गरेर लकडाउन खोल्नुपर्छ। लकडाउन खोल्न नसके कोरोनालाई रोके पनि नागरिक असन्तुष्टि र असन्तोषको संकटलाई रोक्न सकिँदैन। आर्थिक संकटलाई समाधान गर्ने रणनीति बनाउनुपर्छ।’’
थापाले उत्पादनका क्षेत्र, सेवाका क्षेत्रहरु र विकास निर्माणका कामहरु क्रमशः सामाजिक दुरी कायम गर्दै सुचारु गर्नुपर्ने बताउनुभयो। आर्थिक र राजनीतिक संकट तथा सामाजिक असन्तुष्टिको अन्त्य गर्न राष्ट्रिय एकता र राजनीतिक एकताको रणनीतिका साथ अगाडी बढ्नुपर्ने गृहमन्त्री थापाले बताउनुभयो।
बेरोजगारी, शहरबाट गाउँ फर्किने अभियान लगायतका समस्या आर्थिक संकटका कारण बढिरहेको उहाँले उल्लेख गर्नुभयो। समिति बैठकमा लकडाउन खुलुलो पार्नुपर्ने उल्लेख गरेपनि कुन मोडालिटी हुने र के सर्त हुने भन्ने विषयमा भने केही बताउनु भएन्।









































