काठमाडौं, 9 अक्तूबर 2021
नवनियुक्त महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री उमा रेग्मीले नवनियुक्त उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गजेन्द्रबहादुर हमाल कांग्रेसकै पुरानो नेता भएकाले प्रधानमन्त्रीले मन्त्रीको जिम्मेवारी दिनुभएको बताउनुभएको छ । शनिबार रिपोर्टर्स क्लब नेपालको साक्षात्कारमा मन्त्री रेग्मीले कसैको नाता पर्न जानु अस्वभाविक नभएको भन्दै पार्टीलाई पुर्याउनुभएको योगदानको कदर गर्दै मन्त्रीको जिम्मेवारी दिइएको बताउनुभएको हो । मन्त्री रेग्मीले वर्तमान सरकारमा महिलाको प्रतिनिधित्व उल्लेखनीयरुपमा हुनु सकारात्मक भएको उल्लेख गर्नुभयो । उहाँले पार्टीको आगामी १४औँ महाधिवेशनबाट महिलाको प्रतिनिधित्व झनै बलियो र सशक्त हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले स्वास्थ्य मन्त्रालयसँग समन्वय गरेर १८ वर्षमुनिका बालबालिकालाई कोरोनाविरुद्धको खोपको सुनिश्चितका लागि खोपको व्यवस्था गर्ने कार्यलाई आफूले प्राथमिकतामा राखेको बताउनुभयो । अहिले पनि देशका दूरदराजमा रहेका बालबालिका कुपोषणबाट ग्रसित रहेको उल्लेख गर्दै उनीहरुको जीवनरक्षा र पढ्न पाउनुपर्ने अधिकारको रक्षाका लागि पनि विशेष कार्यक्रम ल्याउनुपर्नेमा जोड दिनुभयो ।









































