काठमाडौं, 10 अक्तूबर 2021
विश्व मानसिक स्वास्थ्य दिवस, नेपालमा पनि बिभिन्न कार्यक्रमको आयोजना गरि मनाइएको छ । विश्व स्वास्थ्य सङ्गठनको आह्वानमा हरेक वर्षको अक्टोबर १० तारिखलाई मानसिक स्वास्थ्य दिवसका रुपमा मनाउने गरिन्छ । दिवसका अवसरमा चैतन्य इन्सिटच्युट फर मेन्टल हेल्थ लगाएत बिभिन्न संघ संस्थाहरुले काठमाडौंमा जनचेतनामुलक र्याली निकालेका थिए । कोरोना भाइरसको सङ्क्रमणका कारण अहिले विश्वमै मानसिक रोगका बिरामी बढ्न थालेका छन् । कोरोना कहर, लामो समय भएको लकडाउन, आर्थिक अभावलगायतका कारण मानसिक समस्याका बिरामी बढ्दै गएका चिकित्सकहरुको भनाई छ । एक अध्ययनका अनुसार मानसिक समस्याको बेलैमा उपचार गर्न नसके सन् २०३० पछि तीन जनामध्ये एक जनालाई मनोरोग लाग्ने देखिएको छ । ज्यान गुमाउने कारक तत्वमध्ये मानसिक रोग ७ औं नम्बरमा पर्छ । नेपालमा हरेक वर्ष मानसिक रोगीको सङ्ख्या बढ्दै गए पनि यसलाई प्राथमिकतामा नराख्दा रोगीले भरपर्दो उपचार सेवा पाउन मुश्किल देखिएको छ । विश्व स्वास्थ्य सङ्गठनको तथ्याङ्कअनुसार नेपालमा झण्डै २५ लाख मानिसलाई कुनै न कुनै किसिमको मानसिक समस्या छ भने झण्डै ३ लाख नेपालीमा कडा खालको मानसिक रोग छ ।









































