काठमाडौं, 21 मार्च 2023
राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले संवैधानिक आयोगहरुका कामकारबाहीप्रति असन्तुष्टि व्यक्त गरेका छन्। अध्यक्ष तिमिल्सिनाले संवैधानिक आयोगहरूलाई जागिर खाने थलोको रूपमा विकास गर्न नहुनेतर्फ पनि सचेत गराए। मंगलबार मुस्लिम आयोगले ललितपुरमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले सबै समुदायको प्रतिस्पर्धी क्षमता विकासका लागि गठन गरिएका संवैधानिक आयोगहरुले सोही अनुसार काम गर्नुपर्ने स्पष्ट पारे। उनले आफ्नो परिभाषित जिम्मेवारीलाई कुशलतापूर्वक सम्पन्न गरेर आफ्नो औचित्य पुष्टि गर्न पनि सबै संवैधानिक आयोगहरुलाई आग्रह गरे।
अध्यक्ष तिमिल्सिनाले भने, ‘आयोगहरूलाई चाहिने न्यूनतम स्रोत, साधन उपलब्ध गराउन सरकारले कन्जुस्याइँ गर्नु हुँदैन । त्यो उपलब्ध गराउनु पर्छ । र, आयोगहरूले पनि आफ्नो सृजनात्मक, रचनात्मक क्षमताका साथ दिएको जिम्मेवारीहरू, परिभाषित कामहरूलाई कुशलतापूर्वक पूरा गर्न जति तपाईहरू रचनात्मक हिसावले लाग्नुहुन्छ । त्यसको औचित्य त्यति नै पुष्टि हुन्छ । सबै आयोगहरूका लागि त्यही नै हो । र, खासगरी मुस्लिम आयोगको कुरा गरिरहँदा मुस्लिम समुदाय जो हाम्रो देशमा जहाँजहाँ रहनुभएको छ । ती बस्तीहरूमा म के आग्रह गर्छु भने कि आयोग आयोगका लागि होइन । आयोग जागिर खाने थलो बनाउनका लागि कुन बेला कुन हुन्छ ? र, म त्यहाँ पावरमा जान्छु भन्नका लागि होइन ‘ ।
अध्यक्ष तिमिल्सिनाले संवैधानिक आयोगहरू अनन्त कालसम्मका लागि नभएको उल्लेख गर्दै केही वर्ष भित्रै त्यसको आवश्यक नहुने गरी काम गर्नुपर्ने पनि स्मरण गराए। उनले सबै संवैधानिक आयोगहरूसँग सहकार्य र समन्वय गरेर आयोगले आफ्नो कामलाई अघि बढाइरहेको दाबीसमेत गरे।









































