मोरङ, 21 जुलाई
पूर्वी पहाडमा जारी अविरल वर्षाका कारण सप्तकोशी नदीमा पानीको बहाव बढदा ब्यारेजका ४७ वटा ढोका खोलिएको छ । नदीको ब्यारेजमा पानीको बहाव प्रतिसेकेन्ड ३ लाख ४२ हजार ९७० क्युसेक पुगेको मंगलबार बिहान गरिएको मापनले देखाएको छ । पानीको बहाव बढेसँगै सप्तरी र सुनसरीको सीमामा बस्ने स्थानीयलाई स्थानीय प्रशासनले सतर्कता अपनाउन अनुरोध गरेको छ । नदीमा पानीको मात्रा बढ्दै गएपछि बाँध भत्काउने र पानी ओभरफ्लो भएर बस्तीमा पस्ने जोखिम बढेको छ । छिमेकी मुलुक चीनको केरुङ च्छो ताल फुट्ने चेतावनीसँगै सुनसरी र सप्तरी पर्ने कोशी किनारमा समेत त्रास बढेको छ । केरुङ च्छो ताल फुटेपछि भोटेकोसीमा मिसिने तालको पानी सप्तकोशी नदीमा मिसिने भएकोले यहाँका स्थानीयमा डर उत्पन्न भएको छ । अर्को तर्फ कोशी ब्यारेजका ५६ मध्ये ४७ वटा ढोका खोलेर करिब 4 लाख क्युसेक पानी छोडिएपछि भारतको बिहारमा भयावह स्थिति बनेको भारतीय संचार माध्यमले बताएका छन । बिहारका मुख्यमन्त्री नीतीश कुमारले पानीको जलस्तर बढेपछि विपद व्यवस्थापन विभाग र सम्बन्धित जिल्लाका अधिकारीहरुलाई सतर्क रहन भन्नु भएको छ ।









































