काठमाण्डौँ, 30 अप्रेल
सरकारले असंगठित क्षेत्रमा काम गर्ने मजदुरहरुलाई न्यूनतम रोजगारीको व्यवस्था गर्ने भएको छ। असंगठित क्षेत्रमा दैनिक ज्यालादारी गर्दै आएका श्रमिक मजदुरको सम्बन्धमा कोरोना भाइरस (कोभिड–19) को रोकथाम तथा नियन्त्रणको कामबाट रोजगारी गुमाउने र कामबिहिन भएकाहरुलाई स्थानीय तह वा प्रदेश तहमा हुने सार्वजनिक निर्माण कार्यमा लगाउने निर्णय जेठ 14 गते बसेको मन्त्रिरिषद्को बैठकले गरेको छ। बिहीबार मन्त्रिपरिषद्को बैठकले गरेका निर्णय सार्वजनिक गर्दै अर्थ, सञ्चार तथा सूचना प्रविधि मन्त्री डा. युवराज खतिवडाले दैनिक ज्याला नगद वा खाद्यान्न उपलब्ध गराउने गरी काममा लगाउने व्यवस्था गर्ने निर्णय भएको बताउनुभयो। दैनिक ज्यालादर राहत मापदण्डको सीमा भित्र रहेर स्थानीय तहले निर्धारण गर्न सक्ने छ। काम गर्न नचाहने व्यक्तिहरुको हकमा राहत माग्न आएमा काम गर्ने व्यक्तिले पाउने ज्यालाको 25 प्रतिशत हुने बराबरको खाद्यान्न मात्र उपलब्ध गराउने र यसको कार्यान्वयन संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गर्ने छ। यस्तै राहत लिनको लागि आफ्नो परिवारमा कुनै पनि व्यक्ति स्वरोजगार नभएको, औपचारीक रोजगारीमा नभएको वा अन्य कुनै आम्दानीको स्रोत नभएको स्व-घोषणा गर्नुपर्ने छ।
औपचारीक क्षेत्रमा काम गर्ने कोरोना भाइरसको रोकथामका कारण बन्द हुन पुगेका पर्यटन क्षेत्रसँग सम्बन्धीत प्रतिष्ठानहरु एवम् रोजगारदाताले बैशाख महिनाको 50 प्रतिशत तलब तत्काल उपलब्ध गराउने र बाँकी रकम व्यवसाय सुरु भएपछि उपलब्ध गराउनुपर्ने व्यवस्था मिलाउने निर्णय पनि सरकारले गरेको छ। यस्तै तलब भुक्तानी एवम् चालु पूँजीमा समस्या भएमा नेपाल राष्ट्र बैंकले सरल ब्याजदरमा कर्जा उपलब्ध गराउने व्यवस्था समेत गरिएको मन्त्री खतिवडाले बताउनुभयो। ठूला उद्योग प्रतिष्ठानहरुको हकमा पनि तरलताको अभाव भएमा सोही व्यवस्था अनुसार उपयुक्त धितो राखि सहुलियतपुर्ण कर्जा उपलब्ध गराउने र त्यसको व्यवस्था नेपाल राष्ट्र बैंकले गर्ने छ। यस्तो कर्जा लिन 2076 पुष महिनामा आन्तरिक राजश्व कार्यालयमा पेस गरेको पारिश्रमीक भुक्तानीको अग्रिम करको विवरण पेश गर्नुपर्ने छ। यस्तै सामाजिक सुरक्षा कोषमा आवद्ध भएका यस्ता प्रतिष्ठानमा कार्यरत श्रमिक तथा रोजगारदाताहरुको तफबाट 2077 र जेठ महिनामा गर्नुपर्ने योगदान रकम असार मसान्तसम्म जम्मा गर्न पाउने व्यवस्था पनि गरेको छ।
यस्तै चैत र बैशाख महिनामा भुक्तानी गर्नुपर्ने अधिकांश करको भुक्तानी समयावधि जेठ 25 गते भित्र तिर्ने गरी बढाइएको छ। यस अघि चैत 17 गतेको मन्त्रिपरिषद् बैठकले कर तिर्ने समय बैशाख 25 गते सम्म तोकेको थियो। त्यस्तै जेठ 15 गते नयाँ आर्थिक वर्षको बजेट आउने भएकाले बजेटले प्रभाव पार्ने क्षेत्रको कर भुक्तानी भने जेठ 14 गते भित्र तिर्न पनि मन्त्री खतिवडाले आग्रह गर्नुभयो।
2076 साल फागुन र चैत्र महिनाको मासिक मूल्य अभिवृद्धि कर र माघ फागुन महिनाको द्धिमासिक र दोस्रो चौमासिक अवधिको मूल्य अभिवृद्धि कर विवरण र कर दाखिला गर्ने म्याद 2077 जेठ 25 गते सम्म सारिएको हो। यस्तै ती महिनाको अन्तशुल्क विवारण र दाखिला गर्नुपर्ने रकम, आयकर सम्बन्धी विवरण र दाखिला गर्नुपर्ने रकम, शिक्षा सेवा शुल्क, टेलिफोन स्वामित्व शुल्क, दुरसञ्चार दस्तुर दाखिला गर्ने म्याद जेठ 25 गते सम्म थप गर्ने निर्णय सरकारले गरेको हो।
यस्तै खाद्य व्यवस्था तथा व्यापार कम्पनी र साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले चामल, पिठो, दाल, नून, चिनी, खाने तेल लगायतका खाद्य सामग्रिको हाल कायम रहेको मूल्यमा 10 प्रतिशत छुट दिने र सबै कृषि उपजको खरिद किसानबाट गर्ने व्यवस्था मिलाउने निर्णय समेत गरेको छ।
विद्युत प्राधिकरणले मासिक 150 युनिटसम्म विद्युत खपत गर्ने ग्राहकको विद्युत महसुलमा 25 प्रतिशत र 250 युनिट खपत गर्ने ग्राहकलाई लकडाउन अवधिभरको लागि 15 प्रतिशत छुट दिने व्यवस्था समेत सरकारले गरेको छ।









































