काठमाण्डौ, 7 जुलाई 2020
संविधान संशोधन विधेयक फिर्ताका लागि संसद सचिवालयमा प्रस्ताव दर्ता गराउनु भएकी सांसद सरिता गिरीलाई समाजवादी पार्टीले सांसद र पार्टीको साधारण सदस्यबाट निष्कासित गरेको छ । मंगलबार बसेको पार्टीको बैठकले गिरीलाई निष्कासित गरेको पार्टी प्रचार विभागका उपप्रमुख विश्वदीप पाण्डेले जानकारी दिनुभएको छ । नक्साका लागि हुन लागेको संविधान संशोधन विधेयक फिर्ताका लागि संसद सचिवालयमा सांसद गिरीले प्रस्ताव दर्ता गराएपछि उहाँलाई असार ८ गते बसेको पदाधिकारीको बैठकले स्पष्टीकरण सोधेको थियो । स्पष्टीकरणको चित्त बुझ्दो जवाफ नआएको कारण उहाँलाई कारवाही गरेको पार्टीले जनाएको छ ।
नयाँ नक्सा अनुसार निशान छाप परिमार्जनका लागि सरकारले संविधान संशोधन विधेयक संसदमा दर्ता गराएको थियो । सो विधेयक फिर्ता लिनका लागि सांसद गिरीले जेठ २८ संसद सचिवालयमा प्रस्ताव दर्ता गराउनु भएको थियो।
सरकारले प्रस्तुत गरेको संशोधन विधेयकमा स्रोत र प्रमाण नखुलाएकाले विधेयकको दफा २ हटाउनुपर्ने माग उहाँले गर्नुभएको थियो। सो प्रस्ताव दर्ता गराएपछि उहाँको निकै आलोचना भएको थियो ।









































