नयाँ दिल्ली, हेमन्त जोशी, 17 अगस्त 2020
नेपालबाट रोजगारीका लागि साउदी अरब गएका 5 जना नेपालीहरु रोजगारविहीन भएपछि अलपत्र परेका छन। काठमाडौंको मिता म्यानपावर कम्पनीबाट साउदी अरब काम गर्न गएका नेपालीहरु पछिल्लो 6 महिनादेखि रोजगारविहीन भएका कारण भोक-भोकै रहने अवस्थामा पुगेका छन। उनीहरु मध्य अधिकांश डेढ वर्ष अघि साउदी अरब गएका थिए। साउदी अरबका जेद्दा जिल्लाको अलखुम्रास्थित एआईजी नामक कम्पनीमा कार्यरत उनीहरुलाई 6 महिना अगाडी कामबाट निकालिएको थियो। बाजुरा बुढीगंगा नगरपालिका वडा न. 10 का नरबहादुर रावल, खोटाङ जन्तेढुंगा गाँउपालिका वडा न. 9 का दिनेश भुजेल, दाङका भुवनेश्वर शर्मा, रोल्पाका तिलक डाँगी र काभ्रेपलान्चोकका चन्द्रमान बोम्जन अहिले रोजगारविहीन भएपछि समस्यामा परेका छन। यद्धपी उनीहरुले आफ्नो समस्या समाधानका लागि साउदी अरबस्थित नेपाली राजदूतावासलाई पटक-पटक सहयोगका लागि अपिल गरेपनि सहयोग नमिलेको गुनासो गरेका छन। उनीहरुले आफुहरुलाई रोजगारीका लागि पठाउने म्यानपावर कम्पनीलाई बारम्बार फोन गरेपनि कम्पनीले वेवास्ता गरेको बताएका छन। यहाँ बसे भोकै मर्ने स्थिती आउने भएकाले छिटो भन्दा छिटो उद्धार गर्न नेपाल सरकारसँग गुहार लगाएका छन। नेशनल लाइवसँगको कुराकानीमा उनीहरुले उद्दारका लागि सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन।









































