काठमाडौँ, 7 अप्रेल
प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल-भारत सीमामा फसेका नेपालीहरुका लागि सीमा नखोलिने संकेत गर्नुभएको छ । मंगलबार विहान देशवासीको नाममा सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री ओलीले नेपालमा लकडाउन शुरु भएपछि नेपाल-भारत सीमा नजिक पुगेका नेपालीहरुले भोग्नुपरेको पीडा हामीले बुझेका छौँ । तर संक्रमणको जोखिम कम गर्न सीमामा आवतजावत बन्द गर्नैपर्ने बाध्यता रहेको भन्नुभयो । यद्दपी अहिले सीमा क्षेत्रमा क्वारीनटीनमा रहेका नेपालीहरुलाई निश्चित अवधि पुगेपछि स्वास्थ्य परीक्षण गरि स्वदेश भित्र्याइने बताउनु भएको छ ।
भारत सकरकासँग समन्यव गरी सीमापारि रहेका २ हजार १४७ नेपालीहरुलाई उतै क्वारेन्टीनमा राखिएको पनि उहाँले जानकारी दिनुभयो । सीमावारि रहेका करिव ७ सय भारतीय नागरिकहरुलाई पनि नेपाल सरकारले नै क्वारेन्टीनमा राखेको उहाँको भनाइ छ ।
उहाँले विदेशका रहेका केही नेपालीहरुको स्वास्थ्यको चिन्ता व्यक्त गर्दै नेपाली दुतावासहरु प्रवासी नेपालीहरुको समस्या समाधानका निम्ति सक्रिय रहेको बताउनुभयो। उहाँले गैरआवसीय संघ र सामुदायिक संघहरुले पनि सक्दो सहयोग गरिरहेको बताउनुभयो ।
प्रधानमन्त्री ओलीले देश अहिले कोरोना भाइरस संक्रमणविरुद्धको लडाइँमा रहेको जनाउँदै आउने दुई साता अझै चुनौतीपूर्ण हुने बताउनुभएको छ ।
उहाँले मानव जातिले यस्तो महारमारीको सामना गर्दै आएको र पटकपट लड्नु, धुलो टकटकाउँदै उठ्नु र फेरि अगाडि बढ्नु मानव जातिको स्वाभाव भएकाले हामीले यो संकटमाथि विजयी हासिल गर्ने विश्वास व्यक्त गर्नुभयो। उहाँले फेरि एकपटक ५ वर्ष अगाडिको विनाशकारी भूकम्पको समयमा जस्तो धैर्यता र साहस प्रदर्शन गर्न आह्वान गर्दै देशका नागरिकलाई सुविधा उपलब्ध गराउन, आपूर्ति व्यवस्थामा कुनै कमी आउन नदिन, सुरक्षा प्रबन्ध व्यावस्थित राख्न र कोरोना भाइरस फैलिन नदिन सरकार प्रतिबद्ध रहेको बताउनुभयो ।
कोरोना महमारी विरुद्ध सरकारले समयमै चालेका कदमले सयौं जीवन जोगिएको उहाँको भनाइ छ ।
कोरोना महामारीको संक्रमण फैलन नदिन सबै झनै सचेत बन्न आवश्यक रहेको बताउँदै उहाले -यापिड टेष्टले संक्रमित व्यक्तिहरुको थप पहिचान गर्न सफल हुने विश्वास व्यक्त गर्नुभयो ।
प्रधानमन्त्री ओलीले लकडाउन नै कोरोना पराजित गर्ने सबैभन्दा सुरक्षित हतियार रहेको बताउँदै लकडाउनको विकल्प नरहेको प्रस्ट पार्नुभएको छ ।









































