भैरहवा, 31 मार्च, गोविन्द पोखरेल
नेपाल-भारत सीमामा अलपत्र परेका नेपालीहरुलाई नेपाल पस्न नदिने नेपाल सरकारले स्पष्ट नीति लिएपछि उनिहरुको व्यवस्थापनको काम भारतीय क्षेत्रमै भइरहेको छ । 2 दिनदेखि सुनौली नाकामा अलपत्र परेका करिब 4 सय नेपालीहरुलाई 2 दिनसम्म नेपाल प्रवेशको पहल भएपनि नेपाल सरकारले नमानेपछि आज उनिहरुलाई सशस्त्र सीमा बलको मातहतमा राखिएको छ । नेपाल सरकारले उनिहरुलाई फिर्ता लिने चासो नदेखाए पछि दिल्लीमा रहेको नेपाली दूतावाससहित युवा नेता सन्दीप राना विभिन्न प्रवासी संगठनका समाजसेवीको समन्वयमा प्रदेश सरकारसँग समन्वय गरि सीमा सुरक्षा बलको मातहतमा राखिएको हो । उनिहरुलाई अब सशस्त्र सीमा बलले सुरक्षित स्थानमा राखेर लकडाउनको अवधिभर खानापिनाको व्यवस्था गराउने भएको छ । लकडाउनका बेला नेपाल-भारतमा अलपत्र परेकाहरुलाई सोही देशको सरकारले व्यवस्थापन गर्ने निर्णय भएकाले पनि उनिहरुलाई सुरक्षित राख्ने जिम्मा एसएसबीले लिएको जनाइएको छ ।

जानकारीका अनुसार, लकडाउनपछि भारत सरकारको सर्कुलर, दिल्लीस्थिल नेपाली दूतावास र विभिन्न नेपाली संगठनहरुको यथास्थानमा रहन दिएको परामर्शलाई बेवास्ता गर्दै टूर एण्ड ट्राभल्सले करिब 4 सय जना नेपालीहरुलाई सुनौली सीमामा पुऱ्याएपछि उनिहरु रोडवेज डिपोमा अलपत्र परेका थिए । उनिहरु मध्ये अधिकांश अर्घाखाँची, रुपन्देही, पाल्पा, गुल्मी, नवलपरासी र कपीलवस्तु लगायतका ठाँउका वासिन्दा छन । उनिहरु त्यहाँ 3 दिनदेखि अलपत्र परेका थिए ।









































