सिलिगुडी, 20 जुन 2020, शिला शर्मा
दिल्लीबाट सञ्चालित राष्ट्रिय कवि सङ्गम संस्थाले सप्ताहब्यापी अनलाइन कविता गोष्ठीको आयोजना गरेको छ। विगत 16 जूनबाट शुरू गरिएको गोष्ठीको समापन आगामी 22 जूनमा हुनेछ। यो गोष्ठीमा मिजोरमका बहुप्रतिभाशाली, नेपालीभाषी ब्यक्तित्व डा. किङ्ग गुनु घर्तीले पनि आफ्नो प्रस्तुति दिएका छन्। डा. किङ्ग हिन्दी भाषाको यो गोष्ठीमा मौका पाउने एक मात्र नेपालीभाषी प्रतिभा हुन । उनलाई राष्ट्रिय कवि सङ्गमले 17 अगस्ट 2014 मा असमको गुवाहाटीमा आयोजित समारोहमा विशिष्ट साहित्य सम्मानले सम्मानित गरेको छ। यसरी नै 11 अगस्ट 2016 को दिन राजस्थानको बिसाऊमा साहित्य श्री सम्मानद्वारा सम्मानित भइसकेका छन् ।

डा. किङ्गले यो गोष्ठीमा लभली मिजोरम नामक हिन्दी गीति कविता प्रस्तुत गरेका थिए। यसको गीति अलबम पनि निर्माण भइसकेको छ । यसको विमोचन मिजोरमका पूर्व मुख्यमन्त्री लाल थनहोलाले गरेका थिए। उनको प्रस्तुति सफल भएकोमा राष्ट्रिय कवि सङ्गमका केन्द्रीय अध्यक्ष जगदीश मित्तल अनि उत्तरपूर्वाञ्चल प्रभारी मनोज मोदीले मिजोरम च्याप्टरका प्रमुख डा. किङ्गलाई वधाइ दिएका छन् । यसरी नै डा. किङ्गको यो कार्यक्रम सफलभएकोमा बैरागी सङ्गीत परिवार, मिजोरम, पृष्ठभूमि कला संस्थान, सिलगढी, डा. किङ्ग गुनु घर्ती फाउन्डेशन, सिलगढी, एसोसिएसन फर रिसर्च अन नन्प्रफिट अर्गनाइजेसन (आर्नोवा) दिल्ली अनि सिलगढीले पनि वधाइ दिएको समाचार प्राप्त भएको छ ।









































