हिमाचल, 12 मई 2020
भारतमा लकडाउनका कारण मजदूरी गर्न आएका नेपालीहरुको रोजगारी खोसिएर भोकै मर्ने अवस्था आएका बेला हिमाचल प्रदेशको कुल्लु मनालीमा बसोबास गर्ने नेपालीहरुका लागि भने रोजगारी गर्न पाउने व्यवस्था मिलाईएको छ । नेपालीहरुका माग लिएर आज मूल प्रवाह अखिल भारत नेपाली एकता समाज कुल्लु मनाली नगर समितिले राज्यका वन तथा खेल मन्त्री गोविन्द सिंह ठाकुरलाई भेट गरेको थियो । भेटमा मन्त्री ठाकुरले कुल्लु मनालीमा बस्ने नेपालीहरुले कतै जान नपर्ने भन्दै उनिहरुका लागि रोजगारीको व्यवस्था खुलाईएको पनि बताउनु भएको हो । यसका साथै मन्त्री ठाकुरले नेपालीहरुको आधार कार्ड अनिवार्य रुपमा बनाउन मनालीका एसडीएमलाई निर्देशन दिनुभएको छ ।

संगठनले नेपालीहरुको आधार कार्ड बनाउन समस्या हुने गरेको भन्दै मन्त्रीको ध्यानाकर्षण गराएका थियो । राज्यमा रहेका प्रवासी नेपालीहरुको हितमा काम गर्दै आएका मन्त्री ठाकुरले यसअघि पनि लामो समयसम्म सरकारी निकायमा काम गरेका नेपालीहरुलाई स्थायी गराउन प्रमुख भूमिका निभाएका थिए । जारी लकडाउनका कारण नेपालीहरुलाई उत्पन्न समस्याको समाधानका लागि नेपाली मूल प्रवाह अखिल भारत नेपाली एकता समाज कुल्लु मनाली नगर समिति अध्यक्ष साईला लामाको नेतृत्वमा उपाध्यक्ष रतनलाल पुन मगर, सचिव तुलाराम बुढा, महिला मण्डल अध्यक्ष कमला शाही लगायतको 11 सदस्यीय टोली मन्त्री ठाकुरलाई भेट्न पुगेको थियो ।









































