काठमाडौँ, 31 मार्च 2020
पूर्व राजा ज्ञानेन्द्र शाहले सरकारले कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि स्थापना गरेको कोषमा दुई करोड सहयोग गर्ने घोषणा गर्नुभएको छ। पूर्वराजा ज्ञानेन्द्र शाह र उहाँको परिवार सदस्य रहेको हिमानी कोषमार्फत् यो रकम सहयोग गर्न लागिएको हो।
मंगलबार एक विज्ञप्ति निकाल्दै पूर्वराजा शाहले यो विश्वव्यापी महामारी विरूद्ध लड्न सरकारले ल्याएका निर्देशन पालना गर्न पनि नेपालीहरुलाई अनुरोध गर्नुभएको छ। विज्ञप्तिमा लकडाउन अनिवार्य आवश्यकता भएकाले यसमा गैरजिम्मेवार हुने छुट कसैलाई पनि नभएको पूर्वराजा शाहले उल्लेख गर्नुभएको छ।
उहाँले यस्तो महामारीमा पनि ज्यानको पर्वाह नगरी अहोरात्र खटिएका सुरक्षाकर्मी, चिकित्सक तथा नर्स र मेडिकलकर्मीहरु प्रती आभार पनि प्रकट गर्नुभएको छ।










































