नयाँ दिल्ली डेस्क, 30 अप्रेल
वैश्विक महामारी कोरोना भाइरस (कोभिड-19) को संक्रमणका कारण विश्व त्रसित छ। अहिलेसम्म विश्वमा 32 लाख 20 हजार 346 जना संक्रमित भएका छन्। संक्रमित भएकाहरू मध्ये 2 लाख 28 हजार 236 जनाले ज्यान गुमाएका छन्, भने 10 लाख 356 जना कोरोनाविरुद्धको लडाइँ जितेर घर फर्किएका छन्। 19 लाख 91 हजार 754 जनाको उपचार भइरहेको छ।
संक्रमितहरू मध्ये 59 हजार 811 जनाको अवस्था गम्भीर रहेको जनाइएको छ।
चीनको वुहान शहरबाट शुरु भएको कोरोनाको संक्रमण यूरोपेली मुलुक हुँदै अहिले सबैभन्दा बढी अमेरिका प्रभावित बनेको छ। अमेरिकामा मात्रै कोरोनाका कारण 61 हजार 669 जनाले ज्यान गुमाएका छन्, भने 10 लाख 64 हजार 572 जना संक्रमित रहेको जनाइएको छ।
अमेरिकापछि स्पेन, इटाली, फ्रान्स, बेलायत जर्मनी, टर्की, रसिया, इरान लगायतका मुलुक सबैभन्दा बढी प्रभावित बनेका छन्।
भारतमा पनि कोरोनाका कारण 33 हजार 62 संक्रमित रहेका छन्, भने 1 हजार 78 जनाले ज्यान गुमाइसकेका छन्। त्यस्तै 8 हजार 436 जना उपचारपछि निको भएका छन्। भारत सबैभन्दा बढी कोरोना भाइरस संक्रमित मुलुकको सूचीमा 16 औँ स्थानमा पुगेको छ।









































