काठमाण्डौँ, 19 जनरी 2020
कृषि विकास बैंकले पछिल्लो एक वर्षमा वित्तीय सूचकहरुमा उल्लेख्य सुधार गरेको जनाएको छ। बैंकले ५३ औं वार्षिकोत्सवको अवसरमा आइतबार पत्रकार सम्मेलन आयोजना गरी अघिल्लो वर्षको पुष मसान्त यता निक्षेप, कर्जा तथा मुनाफामा सुधार गरेको जनाएको हो। कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल कुमार उपाध्यायले विगतमा औषतमा १५ प्रतिशत लाभांश दिएकोमा गत वर्ष २१.०५ प्रतिशत र आर्थिक वर्ष २०७५÷०७६को नाफाबाट यस वर्ष ३० प्रतिशत लाभांश दिन सफल भएको बताउनुभएको हो। उहाँले अघिल्लो वर्षको पुष मसान्तमा १ खर्ब १० अर्ब रुपैयाँ निक्षेप रहेकोमा अहिले १५ दशमलव ४४ प्रतिशतले बढेर १ खर्ब २७ अर्ब पुगेको बताउनुभयो। कर्जा तथा लगानी पनि १० दशमलव २३ प्रतिशतले बढेर १ खर्ब १७ अर्ब पुगेको बताउनुभयो । त्यस्तै उहाँले आगामी सात वर्षका लागि १० दशमलव ३५ प्रतिशत ब्याजदरमा प्रति ऋणपत्र १ हजार अंकित मूल्यमा २५ लाख कित्ताले हुने २ अर्ब ५० करोड रुपैयाँ बराबरको ‘एडिबिएल–कृषि बैंक ऋणपत्र २०८३’ निष्कासन गर्ने अन्तिम तयारी गरेको समेत बताउनुभयो।
प्रमुख कार्यकारी अधिकृत उपाध्यायले यो अवधिमा बैंकको खराब कर्जा पनि १० दशमलव ३१ प्रतिशतले घटेको जानकारी दिनुभयो। गत वर्षको पुष मसान्तमा ४ दशमलव ४२ प्रतिशत रहेको बैंकको खराब कर्जा अनुपात यस वर्षको पुष मसान्तमा घटेर ३ दशमलव ५९ प्रतिशतमा झरेको छ।









































