नयाँ दिल्ली,31 मार्च,
उत्तर प्रदेशको रामपुरमा अलपत्र परेका 92 जना नेपालीहरुलाई सोही स्थानको एक कलेजमा रहने खाने व्यवस्था गरिएको छ । दिल्ली-हरियाणा सीमामा रहेको फरीदाबादबाट गौरीफन्टा नाका हुँदै नेपाल जान लागेका उनिहरु ट्राभल्स सञ्चालकहरुको लापरवाहीले उत्तर प्रदेशको रामपुरमा अलपत्र परेका थिए । उनिहरु अलपत्र परेको खबर सामाजिक सञ्जालमा बाहिरिएपछि दिल्लीस्थित युवा नेता सन्दीप रानाले घटनालाई गम्भीरतापूर्वक लिँदै रामपुरकै राजकीय आश्रम पद्दति इण्टर कलेजमा उनिहरुलाई बस्ने व्यवस्था गरिएको जानकारी दिनुभएको छ ।

उहाँले जानकारी दिँदै भन्नुभयो “लकडाउनका क्रममा केही टूर एण्ड ट्राभल्स सञ्चालकहरुले बदमासी गरि केही नेपालीहरुलाई गाडी खुलेको छ भन्दै अलपत्र पारेका छन । त्यसै क्रममा ट्राभल्स सञ्चालकले फरीदाबादका 92 जनालाई गौरीफण्टाका लागि लैजान लागेका थिए तर उनिहरुलाई रामपुरमै अलपत्र पारेका थिए ।” उनिहरुलाई कमसे कम खानपिनाको व्यवस्था गरिदिन भन्दै उत्तर प्रदेश सरकारका जलशक्ती मंत्री बलदेव ओलखलाई आग्रह गरेपछि राजकीय आश्रम पद्दति इण्टर कलेजमा बस्ने व्यवस्था गरिएको बताउनुभयो । उनिहरुलाई खानापानी र बच्चाहरूका लागी फलफूल र दुधको व्यवस्था भएको छ । र साथमा रहेकी एक ९ महिने गर्भवती महिलालाई नजिकको सुविधायुक्त अस्पतालमा लग्ने व्यवस्था भएको रानाले बताउनुभयो ।

यसअघि पनि भारतका विभिन्न ठाँउमा अलपत्र परेका नेपालीहरुलाई स्थानिय सरकारको सहयोगमा रहने खाने व्यवस्था गर्नु भएका युवा नेता सन्दीप रानाले सहयोगी राज्य सरकार र स्थानिय सरकारहरुलाई आभार व्यक्त गर्नुभएको छ ।









































