काठमाण्डौ, 1 अप्रेल
सीमामै पुगिसकेका आफ्ना नागरिकलाई भित्र्याउन नसकेको नेपालबाट आज सात समूद्र पारी रहेको अमेरिकाले आफ्ना सयौं नागरिकलाई विशेष विमान गरि फिर्ता लगेको छ ।
भारतका विभिन्न स्थानमा रहेका मजदूर नेपालीहरु लकडाउनपछि ज्यान जोगाउन विभिन्न समस्या झेल्दै सीमासम्म पुगेपनि नेपाल सरकारले उनिहरुका लागि आफ्नो सीमा नखोल्दा झनै समस्या खेपिरहेका छन ।
भारत पसेका आफ्ना नागरिकलाई नेपाल पस्न नदिएको भन्दै आफ्नै नागरिकबाट पनि आलोचना खेप्दै आएको नेपाललाई अमेरिकाले गरेको यो कदम ठूलो झटारो हो ।
अमेरिकाले विमानमा वृद्ध, बालबालिका र अस्वस्थ व्यक्तिहरुलाई प्राथमिकता दिएको छ । तर त्यसको ठीक विपरित नेपाल-भारतका विभिन्न सीमामा दूधे बालक, गर्भवति महिलासहितका नेपालीहरु अलपत्र परेका छन। विभिन्न मिडीया, सामाजिक सञ्जाल र दिल्लीस्थित नेपाली दूतावास मार्फत नेपाल सरकार अलपत्र परेका नेपालीहरुको दूरदशाप्रति अवगत रहेपनि उसले मुकदर्शक बन्नु बाहेक अरु केही गरेको छैन ।
अलपत्र परेका मध्ये अधिकांश नेपालीहरुको भारतीय पक्षले व्यवस्थापन गरिरहेको छ भने अधिकांश नेपालीहरु अझै जीवन-मरनको पर्खाई गरिरहेका छन । उनिहरुले आफ्नो देशमा पसेर क्वारेन्टाइनमा बस्न तयार रहेको समेत भनिरहेका बेला सरकार भने उनिहरुलाई फिर्ता लिन मानिरहेको छैन ।
कोविड-19 महामारीलाई मध्यनजर गर्दै हजारौं अमेरिकी नागरिकहरु आज नेपालबाट फर्किएका हुन। अमेरिकी सरकारले आफ्ना नागरिकहरुलाई कतार एयरवेजको विमानबाट फिर्ता लगेको हो । 302 अमरीकी यात्रुलाई बोकेर विमान काठमाण्डौको त्रिभुवन अन्तर्राष्ट्रीय विमानस्थलबाट वाशिंगटन डीसीका लागि उडान भरेको हो ।
नेपालस्थित अमेरिकी दूतावासका अनुसार देशमा अहिलेपनि 3 हजारदेखि 4 हजार अमेरिकी नागरिक रहेका छन । तर उनिहरुले नेपाल छोडने अनुमति मागेका छैनन ।
नेपालमा 5 जनामा कोरोना भाईरसको संक्रमणको पुष्टि भएको छ, त्यसमध्ये 1 जना उपचारपछि घर फिर्ता भएका छन ।
अमेरिकी सरकारले अफ्ना नागरिकप्रति निभाएको दायित्वबाट नेपाल सरकारले आज सिकेन भने केही समयपछि कोरोना भाइरसबाट त हामी उम्कन सफल होउला तर नेपाल सरकारले गरेको यो लापरवाहीलाई जनताले भने कहिलै भुल्ने छैनन् ।









































