गेजिङ, 6 अप्रेल, केएन शर्मा
सिक्किमका जनसुचना , कृषि , बागवानी ,पशुपालन अनि नगदेबाली विकास विभाग मन्त्री लोकनाथ शर्माले पश्चिम सिक्किममा आवश्यक्ता भएका मानिसहरुका लागि छिट्टै राहत प्याकेज पुग्ने बताउँदै 7 अप्रेलसम्म जिल्लाका खण्ड प्रशासनिक केन्द्रमा राहत सामग्री पुऱ्याउन खाद्य विभागका अधिकारीलाई निर्देशन दिनुभएको छ । गेजिङको जिल्ला पञ्चायत भवनमा सोमवार गरिएको आपातकानीन बैठकमा मन्त्री शर्माले जारी देशव्यापी लकडाउनका कारण राज्य सरकारले सुनिश्चित गर्नुपर्ने खाद्य सामग्री परिवहनको समस्याका कारण ढिलो भएको बताउनुभयो । उहाँले आउँदो शुक्रवारसम्म चामलसहित दाल, प्याज, तेल र अन्य खाद्य सामग्री उपलब्ध गराइने पनि बताउनुभयो । बैठकमा मन्त्री शर्माले लकडाउनका बेला कोभिड-19 को रोकथामका लागि पश्चिम जिल्ला प्रशासनले गरेको तयारीको पनि समीक्षा पनि गर्नुभयो । डीसी (पश्चिम) कर्मा आर बोन्पो, एसपी (पश्चिम) तेञ्जिङ लोदेन लेप्चा, एडीसी (पश्चिम) कर्मा लोदे लेप्चा, सीएमओ (पश्चिम) अनुशा लामा र खाद्य विभागका अन्य अधिकारीका साथमा गरिएको बैठकमा मन्त्री शर्माले पश्चिम सिक्किम अहिलेसम्म सुरक्षित रहेको भन्दै पश्चिम जिल्ला प्रशासनले गरेको तयारीको प्रशंसा गर्नुभयो ।
समारोहमा बोल्दै पश्चिमका डीसी बोन्पोले खण्ड प्रशासन केन्द्रका माध्यमले लाभार्थीहरुलाई चरणबद्ध रुपमा राहत सामग्री वितरण गरिने बताउनुभयो । उहाँले भण्डारणमा रहेको राशन खण्ड प्रशासन केन्द्रमा पठाइदै गरेको र लाभार्थीहरुको पहिचान गर्ने काम पनि भइरहेको बताउनुभयो । बोन्पोले गरिबीको रेखामूनि रहेका परिवारलाई राहत दिइने भन्दै यो सूचिमा 21 हजार 6 सय परिवार रहेको पनि बताउनुभयो ।
l
बैठकमा पश्चिमका पुलिस अधिक्षक लेप्चाले जिल्लाका कानून व्यवस्थाबारे जानकारी दिनुभएको थियो । उहाँले लकडाउनलाई कडाईका साथ पालना गराउन पुलिस जवान र आइआरबी बल तैनात गरिएको बताउनुभयो ।
त्यसैगरि पश्चिमकी सीएमओ अनुशा लामाले जिल्लामा आवश्यक औषधी उपलब्ध रहेको र नपुगेको खण्डमा माग पुरा गर्ने स्वास्थ्य विभागले प्रतिवद्धता गरेको बताउनुभयो ।









































