नयाँ दिल्ली डेस्क, 16 अप्रेल
अमेरिकामा कोरोना भाइरस कोभिड-19 का कारण अहिलेसम्म 28 हजार 554 जनाको ज्यान गएको छ। अमेरिकामा अमेरिकामा कोभिड-19 बाट संक्रमित हुनेहरूको संख्या 6 लाख 44 हजार 348 पुगेको छ। त्यस्तै 48 हजार 708 जना उपचारपछि सन्चो भएर घर फर्किएका छन् भने, 5 लाख 67 हडार 86 जना अझै उपचारार्थ छन्।
अमेरिकामा गत 24 घण्टामा अहिलेसम्मकै सबैभन्दा धेरै नागरिकको ज्यान गएको छ। गएको 24 घण्टायता त्यहाँ 2 हजार 4 सय 94 जनाको ज्यान गएको छ। अमेरिकामा सङ्क्रमित हुनेमा सबैभन्दा धेरै प्रभावित न्युयोर्कमा छन्। त्यहाँ यो भाइरसबाट सङ्क्रमित हुनेको संख्या 2 लाख 14 हजार नाघेको छ। त्यसैगरी यो राज्यमा मात्र अहिलेसम्म 14 हजार 64 जनाको मृत्यु भइसकेको जनाइएको छ।
गएको डिसेम्बर महिनाको अन्त्यतिरबाट चीनको उहानबाट निस्किएको कोरोना भाइरसको कारण अहिलेसम्म विश्वमा 1 लाख 35 हजारभन्दा धेरै मानिसको ज्यान गईसकेको छ भने 20 लाख 96 हजारभन्दा धेरै मानिस सङ्क्रमित भइसकेका छन्। त्यस्तै 5 लाख 23 हजार 322 जना उपचारपछि सन्चो भएका छन्।









































