काठमाण्डौँ, 23 अप्रेल
सरकारले घोषणा गरेको लक डाउनको आज एक महिना पुरा भएको छ। नेपालमा कोरोना संक्रमणको जोखिम बढेपछि सरकारले गत चैत 11 गतेबाट लक डाउन जारी गरेको थियो। चैत 11 गते बिहान 6 बजेबाट सुरु हुनेगरी गरि जारी गरिएको लक डाउनको समय पटक पटक थप भएर बैशाख 15 गतेसम्म पुऱ्याइएको छ। लक डाउनमा अत्यावश्यक र पासबाहक सवारी बाहेक अन्य साधनहरु सञ्चालन भएका छैनन्। अत्यावश्यक काम बाहेक बाहिर हिडडुल गर्नेलाई प्रहरीले नियन्त्रणमा लिएर केही समय होल्ड गर्ने नीति लिएको छ। ठाउँ ठाउँमा प्रहरीले चेकजाँचलाई कडाई गरेको छ।
लक डाउनको समयमा पनि उपत्यका छाडेर बाहिरिनेको संख्यामा भने कमि आउन सकेको छैन्। सवारी साधन बन्द भएपनि हिडैरै गन्तव्य जानेहरुको संख्या अत्याधिक रहेको छ। उपत्यकाका भिडभाड हुने ठाउँहरु सुनसान रहेपनि भित्रि गल्लिहरुमा केही खाद्यन्न पसल र तरकारी पसलहरु भने बिहान बेलुका खुल्ने गरेका छन्। लक डाउनले दैनिक ज्यालादारी गर्ने मजदुरहरुलाई समस्या भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्याङ्क अनुसार बुधबारसम्म नेपालमा 45 जनामा कोरोना संक्रमण देखिएको छ। 7 जना उपचारपछि निको भएर घर फर्किएका छन्। प्रदेश नम्बर 1 सबैभन्दा बढी प्रभावित भएको छ।









































